रामेछापलाई पाँच बर्षभित्र समृद्ध बनाउने एजेण्डा बाम गठबन्धनसँग छःकैलाश ढुंगेल



रामेछापमा मंसिर १० गते हुने पतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि राजनीतिक दलहरुले चुनावी अभियानलाई तिब्रता दिएका छन् । निर्वाचनको अन्तिम तयारीमा राजनीतिक दलका उम्मेदवारहरु जुटेका छन् । रामेछापमा बाम गठबन्धन र नेपाली कांग्रेसबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

बाम गठबन्धनले चुनावी अभियानलाई तीब्रता दिदै स्थानीय तहमा खसेको मतलाई रक्षा गर्ने नीति अगाडि सारेको छ । यसै विषयमा रामेछापको विकासको लागि रामेछापका उम्मेदवारहरुले आ–आफ्नै एजेण्डा प्रस्तुत गरेका छन् । यसै विषयमा रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ का बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता कैलाश ढंगेलसँग रामेछाप न्युजले गरेको कुराकानीः–

चुनावी अभियानमा क्रममा तपाई के एजेण्डा लिएर भोट माग्दै हुनुहुन्छ ?
–पाँच बर्षको अवधिमा समृद्ध रामेछाप निर्माण गर्ने बाम गठबन्धनको मुख्य एजेण्डा हो । हाम्रो भावी एजेण्डा भनेको स्वास्थ्यको क्षेत्रमा हरेक गाँउपालिकाको केन्द्रमा सुविधा सम्पन्न कम्तीमा एउटा अस्पतालको व्यवस्था गर्नेछौं । हरेक पालिकामा प्राविधिक शिक्षालयको व्यवस्थापन गर्नेछौं । हरेक पालिकाबाट सदरमुकामसम्म जोड्ने सडक कालोपत्रे गर्ने योजना समेत अघि सारेका छौं । हरेक गाँउपालिकाको वडास्तरमा रहेका सडकहरुलाई कम्तीमा पनि ग्राभेल गर्ने योजना रहेको छ । आफ्नो गाँउमा उपलब्ध श्रोत साधनहरुलाई अत्याधिक प्रयोग गरी, माटोको परीक्षण गरी जंगलको अध्ययन गरी पानीको क्षमता अध्ययन गरी आफ्नै क्षेत्रको श्रोत साधनलाई मानवीय कल्याणको लागि प्रयोग गर्दै समृद्ध रामेछाप र समृद्ध नेपाल निर्माण गर्ने हाम्रो अभिलाषा हो । यही एजेण्डा लिएर हामीले जनतासँग भोट मागिरहेका छौं ।

जनताहरुले चाही तपाईहरुसँग मुख्य रुपमा कस्ता–कस्ता माग गरेका छन ?
–मुख्य समस्या भनेको जिल्लामा बेरोजगारी हो । स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, विद्युत, भुकम्प पीडितको समस्या, सडक लगायतका भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने जनताको मुख्य माग गरेको छ । हामीले जनतालाई स्पष्ट भनेका छौ, निर्वाचनपछि उत्पादनसँग जाडेर हामीसँग भएको जल, जमिन, जंगल र जनशक्तिलाई बढि भन्दा बढी उपयोग गरेर स्थानीयस्तरमा नै रोजगारी श्रृजना गर्ने हाम्रो लक्ष्य हो । अबको दश वषभित्रमा रामेछाप समृद्ध हुने कुरामा शतप्रतिशत विश्वास गर्न हामीले भनेका छौं । अबको पाँच वषभित्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने हामीले प्रतिबद्धता जाहेर गरेका छौं । जनताको सल्लाह सुझावलाई नै एजेण्डा बनाएर सरकारी अंगमा जान्छौ र सोही अनुसार नै जिल्लाको विकास निर्माणको कामलाई अगाडि बढाउछौ । जनताको विकासप्रतिको तीब्र अभिलाशा छ । सोही अनुसार काम गछौं ।

निर्वाचनबाट विजयी हुनुभएको अवस्थामा तपाईको प्राथमिकता के–के हुन ?
हाम्रो पहिलो काम भनेको प्रदेशमा जनताको तहसम्म आउने गरी नियम कानुनहरु नै निर्माण गर्नु नै हो । दोस्रो जनस्तरमा पहिलो प्राथमिकता भनेको स्वरोजगारीको अवस्था श्रृजना गर्ने हो । यहिभित्र स्वरोजगारको अवस्था श्रृजना गर्न पूर्वाधारको विकास गर्नेछौं । सडक, विद्युत, शिक्षा, स्वास्थ्य, वातावरण र पर्यटन यी हाम्रा आधारभूत एजेण्डाहरु हुन् । हाम्रो अगाडि शैंलुङ्ग उभिएको छ, हाम्रो काखमा नदीहरु बगेका छन् । हाम्रो गहनाहरुको रुपमा तामाकोशी छ, खिम्ती खोला छ । हामीसँग तामेडाँडा छ, नुम्बुरचुली हिमश्रृखलाहरु छन् । तिमाल छ, चौरीखोला छ । हामीसँग उर्वरा माटो छ, तिनलाल छ, धेरै यस्ता चिज छन् जसले रामेछापको चिनारीलाई नयाँ उचाइमा पु¥याउन सक्छन् । त्यतिमात्र नभएर क्रान्तिको एउटा इतिहास पनि रामेछापमा नै लुकेर बसेको छ । रामेछापको उत्पादन र रामेछापको पहिचान जे छ ? त्यसलाई मात्र उठाउन सकियो भने रामेछाप मात्रै होइन, रामेछापले अरु क्षेत्रलाई समेत पाल्न सक्ने क्षमता रामेछापले राख्छ ।
कम्युनिष्ट शासन आए रुन पनि पाइदैन भन्ने कुरा पनि आएको छ नि हो ?
मागेर खाने लम्फु लोकतन्त्र भन्दा कम्युनिष्टको शासन धेरै प्रजातान्त्रिक, सुशासन र अनुशासित हुन्छ । आफ्नो माटो र पानीमा उसले बढि विश्वास गर्छ । विदेशीले दिएको एक आङ्ग ढाक्ने लुगा र एकछाक खानमा कम्युनिष्टहरु पछि लाग्छन् भन्ने मलाई लाग्दैन । जनताहरु प्रगति र उन्नती चाहन्छन् । कम्युनिष्ट शासन आयो भने हास्न पाइदैन । कम्युनिष्ट शासनमा कसैले पनि रुनु पर्दैन । यस्तो भ्रमको पछाडि नलाग्न पनि म रामेछापवासी जनतालाई आग्रह गर्दछु ।

जिल्लामा बाम गठबन्धनले साच्चिकै विकास र समृद्धि गर्छ भनेर कसरी जनतालाई विश्वस्त बनाउनुहुन्छ ?
हिजो पनि म तत्कालिन जिल्ला विकासको सभापति भँए । मन्थलीबाट खुर्कोट बाटो खन्दाखेरी पारिपट्टि खुर्कोटमा मोटर आएको थिएन । मन्थलीबाट गाल्वा हुँदै चौरी जाने बाटो, मन्थलीबाट साँघुटार जाने बाटो, देविटारबाट दोरम्बा जाने बाटो, हलेदेबाट धोवी जाने बाटो, ठोसेबाट बाम्ती जाने बाटो यी बाटोहरु नक्सा कोरेर सुरुसुरु बाटो खन्ने कामको सुरुवात् कसले गरेको भनेर कतै सोध्नु भयो भने त्यहाँ मेरो नाउँसँगै कम्युनिष्टको नाउँ आउँछ जिल्ला विकासमा । कम्युनिष्ट भन्दा बाहेक अरु कसैले पनि त्यो गरेका छन् ? त्यसो भएको हुनाले नक्सा कोर्ने हामी नै हौं । त्यसमा रंग भर्ने पनि हामी नै आउँछौं अब, हामीसँग यति धेरै योजना छन् । सडकका, बिजुलीका, गुणस्तरीय शिक्षाका, स्वास्थ्यका, पर्यटनलगायतको योजना छन् । जुनकुरा आर्थिक व्यवस्थापनसँग जोडिएका छन् । ती योजना पूरा गर्न हामीले पर्याप्त समय नै पाएका छैन् । भोट हामीलाई देउ, हामी तिमीलाई डोजर पठाइदिन्छौं भन्दैनौं । हामी कसैलाई पनि डोजर दिन सक्दैनौं । हामी कुनै पनि मान्छेलाई एकछाक स्वादिलो माछा बनाएर मुख मिठो बनाउन चाहदैँनौं । कोशी तर्न र माछा मार्न आवश्यक सीप सिकाउँछौं । त्यो मात्र भयो भने माछाको लोभमा परिरहने मान्छेको मुख सँधै मिठो रहन सक्छ । त्यसलाई मात्र दिगो विकास मान्नु पर्छ ।
निर्वाचनपछि तपाईहरुले सार्वजनिक गर्नुभएको घोषणा–पत्रमा लेखिएका कुरा कार्यान्वययन होला त ?

काठमाडौंबाट रामेछाप आउँदै गर्दा सित्खा भन्ने ठाउँमा सुनकोशीमा पक्की पुल निर्माण भएको छ । मन्थलीको एयरपोर्ट भन्दा माथि पनि पुल बनेको छ । भटौली खोलामा पनि पक्की पुल निर्माण भएको छ । चौरी खोलामा पनि निर्माणको क्रममा नै छ । यो सबै योगदान वामगठबन्धनको पहलमा भएको हो । प्राविधिक शिक्षालय स्थापना भएको छ । हाम्रो पहलमा नै भएको हो । उज्यालो रामेछाप अभियान सुरु भएको छ । एक बर्षभित्र सबै रामेछाप झिलिमिली हुन्छ यो पनि हामीले गरेको हो । हामी घोषणापत्र अनुसार नै योजनाबद्ध रुपमा प्राथामिकताको आधारमा विकास निर्माणको काम अगाडि बढाउछौ ।

प्रतिक्रिया दिनुहोस्