बेथानलाई किन दंगाग्रस्त क्षेत्र घोषणा गरियो ?



४ मंसिर, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले सुनापति गाउँपालिका–४ बेथानलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । बाम गठबन्धन र नेपाली कांग्रेसले डहुमा रहेको साविकको गाविस भवनस्थित प्राङगणमा एक पटक कार्यक्रम गर्न खोजेपछि सम्भावित झडपलाई रोक्न प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

मंगलवारदेखि लागू हुने गरी स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामेछानेले रामेछाप न्युजलाई जानकारी दिए ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ख बमोजिम बेथानमा सभा जुलुस र अन्य कुनै पनि कार्यक्रम गर्न रोक लगाइएको छ । सोमबार निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्माले उक्त आदेश जारी गरेका हुन् । प्रशासनले प्रयोग गरेको दफा बमोजिम एकै थलोमा ५ जनाभन्दा बढी मानिसहरुको भेला हुन पाइँदैन ।
सुरुमा बाम गठबन्धनले मंसिर ५ गते चुनावी सभा गर्ने कार्यक्रम तय गरेको थियो । लगत्तै सोही स्थानमा मंसिर ५ गते नै कार्यक्रम गर्ने कांग्रेसले तयारी थालेपछि दुवै पक्ष कार्यक्रम स्थगित गर्न तयार नभएपछि शान्ति सुरक्षाको दृष्टिकोणले दंगाग्रस्त क्षेत्र घोषणा गरिएको प्रजिअ लामेछानेले बताए ।

उनले शान्ति सुरक्षामा खलल पर्ने अवस्था देखिएकोले बेथानलाइ अर्को आदेश नभएसम्मका लागि दंगाग्रस्त क्षेत्र घोषणा गरीएको बताए । गत स्थानीय तहको निर्वाचनमा सुनापति गाउँपालिकाको चार वडा अध्यक्ष सहित गाउँपालिको प्रमुख उपप्रमुख सहित सबै सदस्य माओवादी केन्द्रले जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्