प्रशासनले नियोजित रुपमा बेथानको चुनावी सभा रोक्योः बाम गठबन्धन



४ मंसिर, काठमाडौं ।
बेथानमा भोली हुने भनिएको पूर्व निर्धारित कार्यक्रम गर्न स्थानीय प्रशासन निषेधित क्षेत्र घोषणा गरेकोप्रति रामेछापमा बाम गठबन्धनले आपत्ति जनाएको छ । बाम गठबन्धनले प्रशासनले नियोजित रुपमा आफूहरुको पूर्व निर्धारित कार्यक्रम रोकेर कांग्रेसको गतिविधिलाई सहयोग गरको आरोप लगाएको छ ।
बाम गठबन्धनले स्थानीय प्रशासनसँग अनुमति लिएर नै भोलीको लागि बेथानको डहुस्थित साविक गाविस भवनको कार्यालयमा चुनावी सभाको कार्यक्रम तय गरेको थियो । तर कांग्रेसले पनि भोली नै सोही ठाउँमा कार्यक्रम गर्ने भनेपछि प्रशासनले कांग्रेसलाई नै सघाउ पुग्ने गरी निषेधित क्षेत्र घोषणा गरेपछि बाम गठबन्धन रुष्ट बनेको छ ।

नेकपा माओवादी केन्द्रका युवा नेता कैलाश मगरले विना कारण भोलीको लागि निर्धारित बाम गठबन्धनको कार्यक्रममा प्रशासनले रोकेको बताए । उनले भने,‘कांग्रेसले यस अघि नै बेथानमा चुनावी सभा गरिसको छ, बाम गठबन्धनले प्रशासनसँग अनुमति लिएर नै कार्यक्रम तय गरको हो, अहिले आएर कसैले हल्ला फिजाएको भरमा बाम गठबन्धनको कार्यक्रम हुन नदिने गरी निषेधित क्षेत्र घोषणा गर्नु प्रशासनमाथि आशका गर्ने ठाउँ रहेको छ ।’

निर्वाचनमा सबै राजनीतिक दलहरुलाई प्रशासनको अनुमति लिएर चुनावी सभा गर्ने अधिकार भएपनि कांग्रेसलाई सघाउ पुग्ने गरी विना आधार प्रशासनले कदम चालेको भन्दै बाम गठबन्धन स्थानीय प्रशासनसँग असन्तुष्टि बनेको छ ।

नेता मगरले भने,‘प्रशासनले कांग्रेसले यस अघि कार्यक्रम गरिसकेकाले बाम गठबन्धनलाई कार्यक्रम दिन रोक्नेतिर जानु पर्दथ्यो, तर कांग्रेसलाई नै सहयोग पुग्ने गरी प्रशासनले गरेको निर्णयले स्वतन्त्रपूर्वक निर्वाचन हुनेमा नै प्रश्न जन्माएको छ ।’ प्रमुख जिल्ला अधिकारीले बाम गठबन्धनलाई कार्यक्रम गर्न दिनुपर्ने पक्षमा भएपनि प्रहरीले सुरक्षा दिन नसक्ने बताएपछि बाँध्य भएर बेथानमा निषेधित क्षेत्र घोषणा गरेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्