बेथानमा घोषणा गरिएको निषेधित क्षेत्र फुकुवा !



५ मंसिर, रामेछाप ।
स्थानीय प्रशासनले रामेछापको सुनापति गाउँपालिका–४ बेथानमा जारी गरेको निषेधित क्षेत्र फुकुवा गर्ने भएको छ । प्रशासनले निर्वाचनको मितिसम्म नै निषेधित क्षेत्र घोषणा गरेकोप्रति बाम गठबन्धनले मंगलवार जिल्लाभर विरोध सभा गरेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले भोलीबाट लागू हुने गरी निषेधित क्षेत्र फुकुवा गर्न लागेको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामेछानेले भोलीबाट लागू हुने गरी निषेधित क्षेत्र घोषणाको निर्णय फिर्ता लिन लागिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘सम्भावित झडप रोक्नको लागि दंगाग्रस्त क्षेत्र घोषणा गरिएको हो, निर्वाचनमा जनतासँग मत माग्ने अधिकारबाट राजनीतिक दलहरुलाई बञ्चित गर्ने हाम्रो उदेश्य होइन ।’

स्थानीय प्रशासनले बाम गठबन्धनले आज बेथानमा गर्ने पूर्वनिर्धारित कार्यक्रममा झडप हुने आकलन गर्दै चुनावी सभा रोक्न सोमवार निषेधित क्षेत्र घोषणा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्