रामेछापमा एक वडाबाट अर्को वडामा चुनाव प्रचार गर्न जान नपाइने



६ मंसिर, रामेछाप ।
निर्वाचनको दिन आउन चार दिन मात्र बाँकी रहेदा रामेछापमा अब एउटा वडाबाट अर्को वडाका गएर राजनीतिक दलका कार्यकर्ताहरुले चुनाव प्रचार प्रसार गर्न नपाउने भएका छन् । एक वडाबाट अर्को वडाका बासिन्दा अर्को वडामा गएर निर्वाचन प्रचार गरेको अवस्थामा स्थानीय प्रशासनले पक्राउ गरेर सार्वजनिक मुद्दा चलाउने भएको छ ।
आज बसेको सर्वदलिय बैठकमा राजनीतिक दलका नेताहरुले निर्वाचनको क्रममा एक वडाका आफ्ना कार्यकर्ता अर्को वडामा गएर निर्वाचन परिचालन नगर्ने सहमति जनाएका छन् ।

सर्वदलिय बैठकमा रामेछापमा अर्को जिल्लाबाट कोही पनि आउन नपाउने सहमति भएको छ । रामेछापमा बाम गठबन्धन र नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप्रसाद लामेछानेले राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएको बताए ।
जिल्ला न्यायाधिश समेत रहेका मुख्य निर्वाचन अधिकृत जिल्ला कृष्ण प्रसाद पौडेलले बोलाएको सर्वदलिय बैठकमा प्रजिअ लामेछाने, डिएसपी कुमोद ढुंगेलले निर्वाचनलाई निष्पक्ष र भयरहित ढंगले सम्पन्न गराउनको लागि राजनीतिक दलहरु जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।

नेपाली कांग्रेसको तर्फबाट रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार जितबहादुर थापामगरले आफूहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएको बताए ।

सर्वदलिय बैठकमा बाम गठबन्धनका नेता तारानारायण श्रेष्ठले निर्वाचन आचारसंहिता विपरीत कांग्रेसका उम्मेदवार कान्छाराम तामाङले डोजर एम्बुलेन्स दिन्छु भनेको, बुथ कब्जा गरे त्यसको जिम्मेवार आफू रहेको भन्ने कुरालाई बैठकमा गम्भीरताको साथ राखेको बताए ।

उनले भने,‘हामी निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्धता छौ, अरु दल पनि हुनु पर्यो ।’ बैठकमा आचारसंहिता उल्लघन गर्नेहरुमाथि कडा रुपमा प्रस्तुत हुने चेतावनी स्थानीय प्रशासन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्