रामेछापलाई बाम गठबन्धनले मात्र समृद्ध बनाउन सक्छ, त्यो योजना हामीसँग छःपौडेल



रामेछापमा राजनीतिक दलहरुले चुनाव प्रचार प्रसारको कार्यलाई अन्तिम चरणमा पुर्याएका छन् । रामेछापमा बाम गठबन्धन र नेपाली कांग्रेसले जिल्लाभर चुनावी सभा सम्पन्न गरेका छन् । दुवै दल आ–आफ्नो रणनीति निर्माण गर्न लागेका छन् । यसै विषयमा रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका शान्तिप्रसाद पौडेलसँग रामेछाप न्युजले गरेको कुराकानीः–

रामेछापमा बाम गठबन्धनलाई नै भोट किन ?
विकास निर्माणको हिसाबले अहिले रामेछाप जिल्लाको आठवटा स्थानीय तह छन् । स्थानीय तहमा यो पाँच बर्षको अवधिमा हामी पिच सडक पु¥याउने छौं भन्ने प्रतिबद्धता जाहेर गरेका छौं । त्यसैगरी रामेछाप जिल्लामा ६४ वटा वडाहरु छन् । ६४ वटा वडाहरुबाट गाँउपालिका वा नगरपालिकाको केन्द्रसम्म बाह्रै महिना सवारी साधन चल्न सक्ने गरी सडकको स्तरोन्नती गर्छौ भन्ने हामीले प्रतिबद्धता जाहेर गरेका छौं । यसैगरी खिम्तीखोला र तामाकोशी करिडोरमा सडक निर्माण सम्पन्न भएको छ । अब हामी लिखुखोला करिडोर कोलोञ्जोर घाटदेखि गुम्देल फेदिसम्म लिखुुखोलाको बाटो आगामी पाँच बर्ष्भित्रमा पूरा गर्छौंं । पर्यटन सडकको हिसाबले सेलेघाट, रामेछाप, सालु, धोबि हुँदै बाम्तीभण्डारको डाँडैडाँडाको बाटोलाई पर्यटन सडकको रुपमा विकास गर्नेछौं ।

त्यसैगरी आगामी एक बर्ष्भित्रमा हामी प्रत्येक नागरिकको घरमा बिद्युत बिस्तार र बिजुली बत्ती बाल्ने योजना हामीसँग छ । यो अभियानमा अहिले सर्बे गर्ने टोली आइसकेको अवस्था छ । यसको लागि आवश्यक पर्ने बजेट समेत बिनियोजन भइसकेको अवस्था छ । हामी त्यसलाई मौखिक प्रतिबद्धता अनुरुप नै आगामी एक बर्षमा पुरा गर्ने लक्ष्य समेत लिएर अगाडि बढेका छौं ।
हामी कृषि, शिक्षा र स्वास्थ्यमा पहँुच विस्तार गर्न एउटा गाँउपालिकाको केन्द्रमा कम्तीमा पनि २५ शै्याको अस्पताल स्थापना गराएर सबै जनसमुदायलाई स्वास्थ्य जीवनबिमासँग जोड्ने र गरिबिको रेखामुनी रहेको समुदाय हुनुहुन्छ उहाँहरुलाई स्वास्थ्य जीवन बिमाको लागि लाग्ने कम्तीमा ५० प्रतिशत रकम नेपाल सरकारले प्रबन्ध गरिदिनु पर्ने व्यवस्थाका लागि जोड गर्नेछौं ।
उर्जाको क्षेत्रमा भने खिम्तीखोलाको पानीसँग सम्वन्धित् तिनवटा हाइड्रो पावरहरु खिम्ती २, मध्य खिम्ती र अपर खिम्ती आयोजनाहरु छन् । ति आयोजनाहरु आगामी पाँच वर्ष्भित्रमा निर्माण सम्पन्न हुनेछन् । त्यसैगरी लिखुखोलामा लिखु १, लिखु २, र लिखु ४ को अहिले काम सञ्चालनमा भइरहेका छन् । यी आयोजनाहरुलाई यथासक्य चाँडो सम्पन्न गर्ने चरणमा लैजाने छौं । र, हामी अहिलेको नीति नियमको हिसाबले आयोजनाको १० प्रतिशत शेयर आयोजना स्थलका प्रभावितहरुलाई दिनुपर्छ भन्ने छ । हामी त्यो शेयरलाई बुद्धि गरि कम्तीमा पनि ३० प्रतिशत पुु¥याउने छौं र शेयरमा पनि जनसहभागिताको सुनिश्चितता गराउने छौं । सुनकोशी जलाशययुक्त आयोजना, सुनकोशी २ जलाशययुक्त आयोजना, सुनकोशी ३ जलासययुक्त आयोजनालाई आगामी पाँच बर्ष्भित्र कामको सुरुवात गर्ने चरणमा लैजाने सम्मको वातावरण निर्माण गर्नेछौं भनि हामीले जनताको बीचमा प्रतिबद्धता व्यक्त गरेका छौं । यस कारण रामेछापमा बाम गठबन्धनलाई जनताले भोट दिनेछन भन्ने विश्वास लिएको छु ।

यो भन्दा अगाडि यी कामहरु किन हुन सकेनन् ? अब हुन्छ भन्ने आधार के छन् ?
रामेछापमा २०५६ मा यातायातका साधन छिरेको हो । र, पनि अहिले हिँउदको समयमा ६४ बटै वडामा चारपांग्रे गाडी चढेर पुुग्न सक्छन । यो अठार बर्षको अवधिभित्रै जनताको चारपांग्रे सवारी साधन चढ्ने सपना पूरा भयो । स्थानीय तहको निर्वाचन पश्चात् सबै अंङ्गहरु निर्वा्चित भएर आइसकेको छ । बजेट बिनियोजनको हिसाबले गर्ने हो भने भने २२ देखि ३० करोड भन्दा बढि रकम गाँउपालिका र नगरपालिकामा विनियोजन भइसकेको अवस्था छ ।
अब प्रदेशले गर्ने, केन्द्रले गर्ने र स्थानीय तहले गर्ने विकास निर्माणको आयोजनाहरु छुट्याउनु पर्छ । राष्ट्यि गौरबका आयोजनाहरु केन्द्रले हेर्नुपर्छ भने प्रदेश भित्रका ठूला आयोजनाहरु प्रदेशले हेर्ने गरी अरु सबै विकास बजेटको रकम स्थानीय तहमा विनियोजन भयो भने हामी स्थानीय स्तरमा विकासका कामलाई योजनाबद्ध ढंगले अगाडि लैजान सक्नेछौं । हिजो १ सय रुपैयाँबाट सुरु गरेको बृद्धभत्ता अहिले २ हजार पुगेको छ । यो गठबन्धनको स्थानीय तहको सरकार बनिसकेको छ । अब प्रदेश सरकार र केन्द्रिय सरकार बन्यो भने त्यसलाई हामी ५ हजार पु¥याउने छौं ।
हामी २० वर्षदेखि रामेछाप जिल्लाको विकासमा लागिरहेका छौं । समग्र जिल्लाको विकास गर्ने योजना बनाएका छौं । ३४ वटा सडकहरुबाट जिल्ला सदरमुकामको बाटो जोड्ने योजना बनाएका छौं । ति योजनाहरु मध्य केही योजनाहरु निर्माण सम्पन्न हुन बाँकी रहेको भएता पनि अधिकांश योजनाहरु पूरा भई जिल्ला सदरमुकाम र काठमाडौंसम्म जोड्ने मार्गको रुपमा परिचित छन् । जनताको भरोसा र आशा अझै पनि के छ भने हिजोदेखि हामीले आरम्भ गरेका कामहरु लगातार र अनवरत रुपमा गरिरहेका छौं । यसमा जनताको पूर्ण विश्वास छ भन्न चाहन्छु । किनभने हामी जिल्लामा बसेर जनसमुदायको समस्या हल गर्ने कुरामा हिजो पनि थियौं । आजपनि छौं र भोलिसम्मै रहिरहनेछौं । त्यसकारणले पनि उहाँहरुले विश्वास व्यक्त गर्नुहुनेछ ।
आगामी निर्वाचनमा बाम गठबन्धनले जितेको अवस्थामा के–के कामलाई प्राथमिकता दिन्छ ?
–विकास निर्माणको पाटोलाई प्राथमिकता दिँदा हामीले सडकको मुद्दालाई नै उठाउने छौं । रामेछापमा खानेपानीको ठूलो समस्या छ यसलाई दोस्रो प्राथमिकतामा राखेर काम गछों । तेस्रो प्राथमिकता शिक्षा र स्वास्थ्यका लागि नै हुनेछ । साथै कृषिमा आधुनिकतासँगै वैज्ञानिक पद्दतिको विकास गर्न हामी जोड गर्नेछौं । जहाँ अहिले पनि बिद्युतिकरण गर्न सकिएको छैन त्यो क्षेत्रका लागि विषेशगरी लिखु खोला र खिम्ती खोला साथै दुई ठूला कोशीहरु तामाकोशी र सुनकोशीमा हाइड्रोपावर निर्माण गर्नेछौं । जलविद्युत निर्माणको लागि जिल्लाका नागरिकहरुलाई शेयर उपलब्ध गराउने व्यवस्था मिलाउने छौं । हामी जनसमुदायलाई जोडेर सबैलाई लाभ हुने गरी जनतासँग प्रत्यक्ष रुपमा बसेर योजनाहरु बनाउँछौं । बनाइएका योजनाहरु हामी जसरी पनि सफल बनाउँछौं ।
रामेछापवासीलाई के भन्न चाहनुहुन्छ ?
म रामेछापबासी सबै आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुलाई उम्मेदवार भएको हिसाबले के आग्रह गर्न चाहन्छु भने हामी गठबन्धनको तर्फबाट जो उम्मेदवारहरु बनेका छौं, प्रतिनिधिसभाको लागि श्यामकुमार श्रेष्ठलाई गोलाकार भित्रको हँसिया हथौंडा चुनाव चिन्हमा मतदान गर्नुपर्नेछ । त्यसैगरी प्रदेशसभा ‘क’ मा म आफैं शान्तिप्रसाद पौड्याल र प्रदेशसभा ‘ख’ को लागि कैलाशप्रसाद ढुङ्गेललाई सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दछु । गठबन्धनको तर्फबाट जिते पनि आम जनताहरुसँग समान ढंगको व्यवहार गरेर समग्र रामेछापको विकासमा लाग्ने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । रामेछापलाई समृद्ध बनाउने कुरा यहाँको विकास निर्माण, पारदर्शीताका, भ्रष्टाचारलाई न्यूनिकरण गर्ने र जनसमुदायको बीचमा बसेर निरन्तर काम गर्ने कुरामा सधै हामी जनताको पक्षमा रहेका छौं । बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु हुनेछ भन्ने अपेक्षा समेत गर्न चाहन्छु ।

 

प्रतिक्रिया दिनुहोस्