रामेछापमा आजबाट मतदाता परिचयपत्र वितरण हुँदै



८ मंसिर, रामेछाप ।
प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणमा चुनाव हुने स्थानमा निर्वाचन आयोगले आजबाट मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । मतदाता परिचयपत्र ८ र ९ गते दुई दिन वितरण हुनेछ । गत स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा ०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका नयाँ मतदातालाई आयोगले परिचयपत्र वितरण गर्न लागेको हो ।


आयोगका अनुसार, मतदाता परिचयपत्र जिल्लाका सम्बन्धित मतदान केन्द्रबाट वितरण हुँदैछ । आयोगले मतदाता परिचयपत्र लिनका लागि परिचय खुल्ने कागजात साथमा लिएर आउन आग्रह गरेको छ । आयोगले नामावली सार्न, सच्याउन निवेदन दिएका मतदातालाई समेत शुक्रबार र शनिबार सम्बन्धित मतदान केन्द्रमा गएर परिचयपत्र बुझ्न सुझाएको छ ।
गत स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेकाले भने सोही परिचयपत्रको आधारमा मतदान गर्न पाउने छन् । रामेछापमा पनि आजबाट १९१ वटा मतदान केन्द्रबाट स्थानीय तहको निर्वाचनमा बुझ्न बाँकी र नयाँ मतदाता परिचायपत्र वितरण हुने हुँदैछ । रामेछापमा स्थानीय तहको निर्वाचनमा वितरण हुन बाँकी २० हजार र नयाँ १७ हजार मतदाता परिचयपत्र वितरण हुने जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले बताए ।

 

प्रतिक्रिया दिनुहोस्