रामेछापमा निर्वाचनको सम्पूर्ण तयारी पुरा, ढुक्क भएर मतदान गर्न अपिल



९ मंसिर, रामेछाप ।
रामेछापमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । आइतवार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको हो । निर्वाचनको लागि करिब २५ सय सुरक्षाकर्मी, मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित १५ सय कर्मचारी परिचालन भइसकेका छन् ।

भोली हुने मतदानको लागि सम्बन्धिन मतदान केन्द्रमा मतदानस्थलको व्यवस्थापन र सर्वदलिय बैठक सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले बताएको छ । जिल्लाको ९० वटा मतदानस्थलबाट नयाँ र स्थानीय निर्वाचनमा छुटेकाहरुको मतदाता परिचयपत्र वितरण गर्ने कार्य सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी उपाध्याय रामेछाप न्युजसँग भने,‘नयाँ थपिएका १८ हजार र स्थानीय निर्वाचनमा लिन बाँकी २० हजार मतदाता मध्ये साठी प्रतिशत मतदाता परिचयपत्र मात्र वितरण भएको छ ।’
९० मतदान स्थल र १ सय ९१ वटा मतदान केन्द्र रहेको रामेछापमा १ लाख ५२ हजार ५ सय ५९ मतदाताले निर्वाचनमा भाग लिदै छन् । जिल्लाको ९० मतदान स्थलमध्य १४ अति सम्वेदनशिल , २३ सम्वेदनशिल र ५३ सामान्य अवस्थामा रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीप प्रसाद लामिछानेले भोली हुने निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको बताउदै ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई अपिल गरेका छन् । उनले भने,‘ढुक्क भएर मतदान गर्ने व्यवस्था हामीले निर्माण गरेका छौ, निर्वाचन स्वच्छ भयरहित र निष्पक्ष हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्