७०२ उम्मेदवार चुनावी मैदानमा,३२ जिल्लामा भोलि निर्वाचन



निर्वाचन आयोगले पहिलो चरणमा भोलि मंसिर १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आइतबार बिहान ७ बजे आ–आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित हुनु भई मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई आग्रह गर्नुभयो ।

संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा हँदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणमा जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नुहुनेछ भने आइतबार सम्पन्न हुने निर्वाचनमा दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमा मतदान हुँदैछ ।

मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको छ ।

सो क्रममा आयोगले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा विसं २०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्नुहुने मतदाताले मात्रै मतदान गर्न पाउनु हुनेहँुदा सबै मतदातालाई मतदानमा सरिक भई आफूले चाहेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न आयोगले अनुरोध गरेको हो ।

संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ कार्यान्वयनको पहिलो खुड्किलोका रूपमा स्थानीय तहको निर्वाचन यसअघि नै सफलताका साथ सम्पन्न भइसकेको व्यहोरा छ । कुनै पनि मतदाताले नाम ढाँटेर अर्काका नाममा मतदान नगर्नु हुन र यदि कसैले त्यस्तो गैरकानूनी कार्य गरेमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने जनाउँदै आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारभएकालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पु¥याउन अपिल गरेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नमध्ये कुनै एक चिह्नमा स्वस्तिक छाप लगाइ तोकिएको मतपेटिकामा मत खसाल्नु पर्नेछ ।

समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि मतपत्र हल्का रातो मसीले छापिएको एउटै पानाको माथिल्लो भागमा मतपत्र १ मा तथा प्रदेशसभाका लागि मतपत्र २ भएका चिह्नमध्ये आफूलाई मनपरेको एउटा राजनीतिक दलको निर्वाचन चिह्नमा मतसंकेत गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्