रामेछापमा ११ दिनसम्म मतपेटिकाको सुरक्षा गर्न सिसि क्यामेरा



१० मंसिर, रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपनि रामेछापमा मतगणना गर्न ११ दिन कुर्नपर्ने भएको छ । निर्वाचन आयोगको निर्णय अनुसार मंसिर २१ गते दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि सबै क्षेत्रको एकसाथ मतगणना कार्य अगाडि बढाइने भएको छ ।


रामेछापमा आठ स्थानीय तहका १९१ मतदान खसेका मतलाई सुरक्षा दिन जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्था कडा पार्ने भएको छ । सुरक्षाकर्मीको साथै मतपेटिको सुरक्षाको लागि मतपेटिका राखिएको स्थानमा सिसि क्यामेरा जडान गरिने भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामिछानेले मतपेटिकाको सुरक्षाको लागि सिसि क्यामेरा जडान गरिने बताए ।


उनले भने,‘राजनीतिक दलहरुले आग्रह गरेको अवस्थामा मतपेटिका सिल गरेर राखिने चार वटा कोठाको भित्र र बाहिर नै सिसि क्यामेरा जडान हुन्छ ।’ भोलीसम्म सबै स्थानबाट मतपेटिका आइपुग्ने र भोली नै सिसि क्यामेरा जडान गरिने उनले जानकारी दिए । मत गणना भने मंसिर २१ गते संवदलिय बैठक राखेर मात्र प्रतिनिधिसभा र प्रदेशसभा कहाँबाट गणना गर्ने भन्ने विषयको टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्