रामेछापमा ५२ मेगावाट लिखु–४ जलविद्युत आयोजनाको निर्णाण सुरु



१३ मंसिर, रामेछाप ।
रामेछापको लिखु गाउँपालिकास्थित लिखु खोलामा लिखु–४ जलविद्युत आयोजना निर्माणको काम सुरु भएको छ । ५२ दशमलव ४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना अगाडि बढेको हो । जलविद्युत लगानी कम्पनी ग्रिन भेन्चरले सुरुमा १ सय २० मेगावाट डिजाइन गरेको भएपनि हाल ५२ दशमलव ४ मेगावाट विद्युत उप्पादन गर्ने गरी काम सुरु भएको छ ।
प्रस्ताव बमोजिम काम नहुने भएपछि झण्डै सात वर्ष देखि उक्त आयोजनाको सबै काम ठप्प थियो । आयोजनाका प्रबन्धक बद्री रिजालले डिजाइन घटेको र उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले किन्ने गरी सम्झौता भएको बताए । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको न्यू खिम्ती सव स्टेशनमा जोडिने छ ।
लिखु ४ को उत्पादन गृह ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका देखि रामेछापको मन्थली नगरपालिकाको देविटारसम्मको साढे १७ किलोमिटर २ सय २० केभीए प्रशारणलाइन आयोजना आफैले निर्माण गर्नेछ । ३० महिना अवधिमा विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्य रहेको सो आयोजनाको कुल लागत ९ अर्ब ५४ करोड अनुमान गरिएको छ ।

रामेछाप र ओखलढुंगाको सीमा नदी लिखुको पानी साविक खिजी चण्डेश्वरी र भुजि गाविकोबीचबाट भूमिगत नहरमा फर्काइ ओखलढुगांको लिम्तीमा निर्माण हुने उप्पादन गृहमा खसालिने छ । आयोजनामा सांढे ४ किलोमिटर भुमिगत नहर र २ सय ३७ मिटर पेनस्टक पाइप जडान गरी २ सय १६ मिटर उचाईबाट उत्पादन गृहमा पानी खसालीने गरी डिजाइन गरिएको छ ।
लिखु ४ जलविद्युत आयोजना पुनः सुरु हुने भएपछि रामेछाप र ओखलढुंगाका बासिन्दा खुसी भएका छन् । लिखु नदीका विभिन्न स्थानमा ५ सय मेगावाटसम्म विद्युत उप्पादन गर्ने गरी डिजाइन भएपनि अपेक्षाकृत रुपमा काम अगाडि बढन सकेको छैन् ।
जलविद्युत आयोजनाको प्रस्तावित पावर हाउसमा लगानीकर्ता समूहको तर्फबाट त्रिलोचन अग्रवाल, सुबास संघाइ र निवर्तमान सांसद रामहरी खतिवडा सहितले भूमि पुजा गरी शुभारम्भ गरेका छन् । लिखु–४ जलवद्युत आयोजनमा स्थानीयलाई प्रभावित शेयर पाउने छन ।

प्रतिक्रिया दिनुहोस्