चीनद्धारा माओवादीको उच्च प्रशंसा



१४ मंसिर, बेइजिङ ।
चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका ६ सय पार्टीहरुमध्ये नेकपा माओवादी केन्द्रलाई पहिलो नम्बरमा राखेको जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा आएका माओवादी केन्द्रका प्रतिनिधिहरूसँगको उच्चस्तरीय बैठकमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका दक्षिण एसिया व्यूरो प्रमुख युआन चिपिंगले विश्वभरीका पार्टीमध्ये माओवादी केन्द्र सबैभन्दा नजिक रहेको बताएका हुन् ।
नेपाली राजनीतिको अग्रस्थानमा रहेको माओवादी केन्द्रले गणतन्त्र स्थापना, संविधान निर्माण र शान्ति प्रक्रियाकालागि खेलेको भुमिकाबाट आफूहरु प्रभावित भएको भन्दै माओवादी केन्द्रसँगको सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने उनले बताए ।


हालै सम्पन्न १९ औं महाधिवेशनमा विश्वभरिबाट आएको शुभकामनामध्ये गहन, मार्मिक र महत्वपूर्ण शुभकामना सन्देश माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भएको युआनले बताए । अन्य पार्टीहरू भन्दा माओवादी केन्द्रले चिनियाँ कम्युनिष्ट पार्टीलाई नजिकबाट बुझेको आफूहरूको ठहर रहेको समेत उनले बताए ।
नेतृत्व चयनका बारेमा बताउँदै उनले चीनले ४० वर्षअगाडीबाट सुरू गरेको सुधारको कार्यक्रम राष्ट्रपति सीको विगत पाँच वर्षको कार्यकालमा धेरै पूरा भएको बताए । बाँकी काम पूरा गर्न चिनियाँ कंग्रेसले सीलाई नै राष्ट्रपतिमा दोहोर्याएको उनको भनाई थियो ।
चीनले अगाडी सारेको वान वेल्ट वान रोड योजनाबाट नेपाललगायत अन्य मुलुकहरू लाभान्वित हुनसक्ने उनले बताए । छलफलका क्रममा उनले प्रचण्ड नेतृत्वको सरकारले यसलाई आत्मसाथ गर्दै सम्झौता गरेको भन्दै सोको समेत प्रशंशा गरे ।
उनले सन् २०३५ मा चीनलाई सम्पन्न मुलुक बनाउने योजनामा आफूहरू रहेको बताए । साथै, चिनियाँ समाजको अन्तरविरोध बदलिएको र चीन नयाँ युगमा प्रवेश गरेको महाधिवेशनको ठहर रहेको उनले बताए । त्यस्तै, अव पर्यावरणीय सुरक्षामा केन्द्रीत हुने र चिनियाँ विशेषतासहितको समाजवादमा प्रवेश गर्ने निर्णय महाधिवेशनले गरेको उनको भनाई थियो ।
विश्वमा समाजवाद कसरी अगाडी बढाउने र त्यसमा चीनको भुमिका के हुने भन्ने विषयमा छलफल भएको नेपाली टोलीसँग बताए ।भेटमा नेपाली प्रतिनिधिको नेतृत्व गर्दै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा विदेश विभाग सचिव युवराज चौलागाईंले नेपालको राजनीतिक परिस्थितिको बारेमा धारणा राखेका थिए । चीनबाट नेपाली माओवादीले धेरै कुरा सिकेको भन्दै उनले नेपालमा समाजवाद लागू गर्ने दिशामा आफूहरू अगाडि बढेको बताए । चीन असल छिमेकी भएको भन्दै चौलागाईंले माओवादी केन्द्र एक चीन नीतिमा अडिग रहेको उनले बताए ।


अक्टोबर १ देखि सुरु हुने चिनियाँ कम्युनिष्ट पार्टीले बेइजिङमा आयोजना गरेको ‘सिपिसी इन डायलग इन वल्र्ड पोलिटिकल पार्टिज’ मा भाग लिन माओवादी प्रतिनिधिमण्डल चीन पुगेको हो। चिनियाँ राष्ट्रपति तथा सी जिनपिङले ग्रेट हल अफ द पिपुलमा उद्घाटन गर्ने उक्त कार्यक्रममा संसारका संसारका ४५० राजनैतिक दलहरुले भाग लिंदै छन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा विदेश विभागका सचिव युवराज चौंलागाईंको नेतृत्वको टोलीसँगको भेटमा महानिर्देशक युआनले नेपालको राजनैतिक परिवर्तनमा माओवादी पार्टीले खेलेको भूमिकाको चीनले उच्च प्रशंसा गरेको बताए ।
‘नेपालको माओवादी पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै गहिरो छ, जुन दुनियाँका अन्य कुनै पार्टीसँगभन्दा अलग र विशिष्ट छ,’ युआनले भने, ‘नेपालमा राजनीतिक परिवर्तनमा जस्तै विकासको कार्यमा पनि यो पार्टी बाटो देखाउने बत्ती बनोस्।’

प्रतिनिधिमण्डलका नेता चौँलागाईंले अध्यक्ष प्रचण्ड र पार्टीको तर्फबाट नवनिवाचित महासचिव सी जिनपिङ र चिनियाँ कम्युनिष्ट पार्टीलाई बधाइ पनि दिए । ‘सिपिसी इन डायलग इन वर्ल्ड पोलिटिकल पार्टिज’ कार्यक्रममा चौँलागाईंले शनिबार ‘स्ट्राइभिङ फर बेटर डेभेलपमेन्ट अफ कन्ट्रिजः नेसनल प्राटिक्स एन्ड एक्सपेरियन्स अफ पोलिटिकल पार्टिज’ विषयमा कार्यपत्र प्रस्तुत गर्दैछन् । १२ सदस्यीय सो टोली मंसिर १८ गते नेपाल फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्