रामेछापमा मतपेटिका कुर्न कार्यालयमै बास



१४ मंसिर, रामेछाप ।
मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपनि उम्मेदवार र राजनीतिक दलका कार्यकर्ता ढुक्कले निदाउन सकेको छैनन् । मंसिर ११ गते रामेछापको १९१ मतदान केन्द्रबाट संकलन भएको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको मालपोत कार्यालयमा राजनीतिक दलको सहभागीतमा सिल गरिएको छ ।
मतपेटिकाको सुरक्षाको लागि स्थानीय प्रशासनले पचास भन्दा बढी नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरेको छ । तर पनि बाम गठबन्धनले निर्वाचन अधिकृतको कार्यालयले सिल गरेको मतपेटिकास्थलमा आफ्नो प्रतिनिधिहरुलाई पनि राखेको छ ।


मुख्य निर्वाचन अधिकृतको कार्यालयले आवश्यकता अनुसार उम्मेदवारले आफ्ना प्रतिनिधि राख्न पाउने व्यवस्था गरेको थियो । सोही अनुसार उम्मेदवारका प्रतिनिधिहरुले पनि रातभर मतपेटिका रहेको स्थलमा ओछ्यान लगाएर बस्ने गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामिछानेले रामेछाप न्युजलाई जानकारी दिए ।
संकलन गरेर राखको मत मंसिर २१ गते दोस्रो चरणको निर्वाचन सम्पन्न भए लगत्तै गणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । रामेछापमा पनि उम्मेदवारका प्रतिनिधिहरुले अझै छ दिन मतपेटिका कुर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्