रामेछापमा यसरी गरिदै छ मतगणना,कसले मार्ला बाजी ?



१९ मंसिर, रामेछाप ।
मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको रामेछापमा मंसिर २१ गते साझ ५ बजेबाट मतगणना हुने भएको छ । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन सम्पन्न भए लगत्तै पहिलो चरण निर्वाचन सम्पन्न भएको ३२ जिल्लामा एक साथ मतगणना गर्ने भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले मंसिर २१ गते सर्वदलिय बैठक मार्फत मतगणना प्रक्रिया अगाडि बढाउने तयारी गरको छ ।
रामेछापमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेकाले प्रतिनिधिसभाको मतगणना दुई समुहमा र प्रदेशसभाको एक एक समुहमा गरी चार समुहमा मतगणना हुने रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामिछानेले रामेछाप न्युजलाई जानकारी दिए ।

मतगणनास्थलमा कडा सुरक्षा व्यवस्था मिलाइने बताउदै प्रजिअ लामिछानेले भने,‘कार्यालय सहयोगी सहित एउटा मतगणना टोलीमा नौ जना कर्मचारी हुन्छन, उम्मेदवारका दुई/दुई जना प्रतिनिधि बस्ने व्यवस्था मिलाइने छ, परिणाम नआउदासम्म मतगणना २४ सै घण्टा सञ्चालन हुन्छ ।’

मतगणना गर्नको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले हाल मतपेटिका राखिएको जिल्ला मालपोत कार्यालयको पहिलो र दोस्रो तलामा ठाउँको प्रबद्र्ध गरेको छ । कम्तिमा पाँच दिनभित्र मतपरिणाम आउने गरी मतगणना गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।
रामेछापमा बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभासभा सदस्यको लागि साझा उम्मेदवार राज्य मन्त्री समेत रहेका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठ र नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ उम्मेदवार छन् ।
रामेछापको दुई वटा प्रदेशसभा निर्वाचनको लागि बाम गठबन्धनको तर्फबाट रामेछाप प्रदेशसभा क्षेत्र नम्बर १ मा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल र कांग्रेसका नेता रत्न कार्की उम्मेदवार रहेका छन् । प्रदेशसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनका साझा उम्मेदवार एमालेका नेता कैलाश ढुंगेल र कांग्रेसका नेता जितबहादुर थापामगर उम्मेदवार रहेका छन् ।

बाम गठबन्धन र कांग्रेसका उम्मेदवारहरुले आ–आफैले जित्ने दावी गर्दै आएका छन् । रामेछापमा प्रतिनिधिसभा सदस्यको लागि ८९ हजार ५ सय मत खसेको छ । निर्वाचन सम्पन्न भएलगत्तै संकलन भएको मतपेटिका रक्षाको गर्नको लागि सुरक्षाकर्मीसँग राजनीतिक दलका कार्यकर्ताहरु पनि रातदिन नभनी मन्थलीमा मतपेटिका कुरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्