रामेछापमा साँझ ५ बजेबाट मतगणना हुँदै



२१ मंसिर, रामेछाप ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आज साँझ ५ बजेटबाट हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले आज सर्वदलिय बैठक मार्पत साँझ ५ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा प्रतिनिधि सभा सदस्यको मतगणना २ स्थानमा र प्रदेश सभा तर्फ को २ वटा क्षेत्रको मतगणना १÷१ स्थानमा हुने भएको छ ।


मतगणना स्थलको सुरक्षाको लागि नेट जाली लगाइएको छ । मतगणना गर्ने कर्मचारीहरु नेट भित्र रहने छन् भने राजनीतिक दल र उम्मेदवारका प्रतिनिधि, पत्रकार तथा पर्यवेक्षकहरुले मतगणनास्थलको नेट बाहिरबाट मात्र पर्यवेक्षण गर्न पाउने व्यवस्था मुख्य निर्वाचन अधिकृतको कार्यालयले मिलाएको छ ।
कुल १ लाख ५२ हजार ५ सय ५९ मतदाता रहेको रामेछाप मंसिर १० गते सम्पन्न निर्वाचनमा ८९ हजार ५ सय ८७ मत खसेको थियो । निर्वाचनको मतपरिणम ठिक ५ बजेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका सहकाय अधिकृत मधु पोख्रेलले रामेछाप न्युजलाई जानकारी दिए ।

सम्पूर्ण तयारी सम्पन्न भएर उम्मेदवार राजनीतिक दलका प्रतिनिधिहरु सदरमुकाम मन्थलीमा सहभागी भएका छन् । रामेछापमा बाम गठबन्धन र नेपाली कांग्रेसको बीचमा प्रतिस्पर्धा हुनेछ ।


प्रतिनिधिसभा सदस्यको लागि बाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामुकमार श्रेष्ठ, नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) उम्मेदवार रहेका छन् ।

त्यसैगरी दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रामेछापमा प्रदेशसभा क्षेत्र नम्बर १ मा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल र नेपाली कांग्रेसका नेता रत्न कार्की उम्मेदवार रहेका छन् । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका नेता कैलाश ढुंगेल र नेपाली कांग्रेसका नेता जितबहादुर थापामगर उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्