को हुन रामेछापबाट निर्वाचित श्यामकुमार श्रेष्ठ ?



तीनलालको जिल्ला रामेछाप प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पुनःकम्युनिष्टहरुको लाल किल्लाको रुपमा परिणत भएको छ । एक प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन गरी तीन वटै क्षेत्रमा बाम गठबन्धनले विजयी भएको छ । प्रतिनिधिसभामा बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठ, रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका कैलाश ढुंगेल र क्षेत्र नम्बर १ मा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल निर्वाचित भएका छन् ।

को हुन निर्वाचित श्याम कुमार श्रेष्ठ ?
श्याम कुमार श्रेष्ठको जन्म बिसं २०२८ साल पुष १ गते गेलु–९ र हाल मन्थली नगरपालिका रामेछापमा भएको हो । बुबा तीर्थदास श्रेष्ठ र आमाको नाम खष्टमाया एक मात्र सन्तानको रुपमा एक मात्र छोराको रुपमा श्रेष्ठको जन्म भएको थियो । श्रेष्ठले मानविकी संकाय अन्तर्गत अर्थशास्त्र राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ ।
२०७० सालको संविधान सभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ बाट निर्वा्चित भएपछि श्रेष्ठले जिल्लाको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको थियो । । चार बर्षको अवधिमा श्रेष्ठको नेतृत्वमा ‘उज्यालो रामेछाप’ अभियानको योजना श्रेष्ठकै नेतृत्वमा कार्यान्वयनको चरणमा छ । उहाँको नेतृत्वमा नै जिल्लामा सडक निर्माण, पुल निर्माण लगायतका विकास निर्माणको कामले गति लिएको छ ।

विकास निर्माणको कार्यमा उम्मेदवार श्रेष्ठले अहोरात्र काम गर्दै आउनुभएको छ । संविधान सभाबाट नयाँ संविधान जारी गर्न भूमिका खेल्नुभएका श्रेष्ठ पुनः रामेछापको प्रतिनिधि सभा निर्वाचनमा बामपन्थी गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएको थियो । रामेछापका जनताको मन जित्न सफल हुनुभएका श्रेष्ठले यस पटकको निर्वाचनमा पनि विजयी हुनुभएको छ ।
यस्तो छ उम्मेदवार श्याम कुमार श्रेष्ठको राजनीतिक यात्राः
१. वि.सं. २०४३ सालदेखि तत्कालिन नेकपा मसालको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश ।
२. २०४७ सालमा दयानारायण श्रेष्ठबाट पार्टी सदस्यता लिएको ।
३. २०४८ को एकता महाधिवशेनपछि जिल्ला कार्य समिति रामेछापको सदस्य ।
४. २०५१ साल फागुनबाट माओवादीले जनयुद्ध सुरु गरेपछि २०५६ सालसम्म अर्धभूमिगत ।
५. २०५७ सालमा नेकपा माओवादीको पूर्णकालिन सदस्य हुँदै पूर्वी कमाण्ड अन्तर्गत रामेछाप–काभ्रेको सव–एरियाको सेक्रटरी ।
६. २०५८ सालमा नेकपा माओवादी रामेछापको जिल्ला कार्यसमिति सदस्य ।
७. २०५९ मा प्राविधिक कमाण्डको इन्चार्ज ।
८. २०६० मा रामेछाप–काभ्रे जिल्लाको ईलाका सेक्रेटरी ।
९. २०६१ देखि चुनवाङ बैठकसम्म रामेछाप जिल्लाको सेक्रेटरी हुँदै त्यसपछि २०६६ सालसम्म विशेष केन्द्रीय कमाण्डाको कार्यालय सचिवको जिम्मेवारी ।
१०. २०६६ बाट नै पुनः रामेछापको सेक्रेटरी ।
११. २०६८ देखि २०७० सम्म रामेछापमा संगठन विभाग प्रमुख ।
१२. २०७० सालका दोस्रो संविधानसभा निर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट रामेछापबाट प्रत्यक्ष निर्वा्िचत सांसद ।
१३. व्यवस्थापिका सांसदको उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध समितिको सदस्य ।
१४. २०७२ मा पार्टीको केन्द्रीय कमिटीको सदस्य ।
१५. २०७३ मा पार्टीको पोलिटब्यूरो सदस्य ।
१६. स्थानीय तहको निर्वाचनमा रामेछापको निर्वाचन परिचालन समितिका संयोजक ।
१७. शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृह राज्यमन्त्री हुँदै हाल एमाले र माओवादी केन्द्रबीच वामपन्थी गठबन्धन बनाएपछि सरकारमा विना विभागीय राज्य मन्त्रीको भूमिका ।
१८ हाल रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।

प्रतिक्रिया दिनुहोस्