छ वटा प्रदेशमा वाम गठबन्धनको दुईतिहाइ बहुमत



२६ मंसिर, काठमाडौं ।
वाम गठबन्धले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन अन्तर्गत ६ वटा प्रदेशमा दुईतिहाई स्थानमा विजयी हासिल गरेको छ ।
प्रदेश नं १, ३, ४, ५, ६ र ७ मा गठबन्धनले दुईतिहाइ बढी स्थानमा जित हासिल गरेको हो । छ वटा प्रदेशमा अत्यधिक स्थानमा विजयी भएको गठबन्धन प्रदेश नं २ मा भने कमजोर देखिएको छ । तुलनात्मक रुपमा अन्य प्रदेशमा कमजोर देखिएको नेपाली काँग्रेस प्रदेश नं २ मा केही बलियो देखिएको छ । त्यस्तै मधेस केन्द्रित शक्ति २ नं प्रदेशमा बलिया देखिएका छन् ।

प्रतिनिधि सभाअन्तर्गत प्रदेश नं १ का २८ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनका साझा उम्मेदवार २२ स्थानमा विजयी भएका छन् । प्रदेश नं १ मा एमालेले १६ स्थानमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले छ स्थानमा जित हासिल गरेको छ । त्यस्तै काँग्रेस चार स्थानमा विजयी भएको छ भने राप्रपा एक स्थानमा विजयी भएको छ ।
प्रदेश नं २ मा वाम गठबन्धनको उपस्थिति निकै कमजोर देखिएको छ । प्रदेश नं २ का ३२ निर्वाचन क्षेत्रमा वाम गठबन्धनले जम्मा सात स्थानमा जित हासिल गरेको छ । एमाले दुई र माओवादी केन्द्र पाँच स्थानमा विजयी भएका छन् । काँग्रेस अन्य प्रदेशमा भन्दा २ नं प्रदेशमा केही बलियो देखिएको छ । काँग्रेसले यस प्रदेशमा छ स्थानमा जित हासिल गर्न सफल भएको छ । त्यस्तै राजपा नेपाल १० र संघीय समाजवादी फोरम नेपाल नौ स्थानमा विजयी भएको छ ।

यसैगरी प्रदेश नं ३ का ३३ प्रतिनिधिसभाका क्षेत्रमा पनि वाम गठबन्धनको बहुमत रहेको छ । गठबन्धनले २७ स्थानमा जित हासिल गरेको छ । एमाले २० र माओवादी केन्द्र सात स्थानमा विजयी भएको छ । त्यस्तै नेपाली काँग्रेस पाँच र नेपाल मजदुर किसान पार्टी एक स्थानमा विजयी भएको छ ।

प्रदेश नं ४ को १८ प्रतिनिधिसभाका क्षेत्रमा पनि वाम गठबन्धनको बहुमत रहेको छ । गठबन्धनले १४ स्थानमा जित हासिल गरेको छ । एमालेले ११ र माओवादी केन्द्रले तीन स्थानमा जित हासिल गरेको छ । त्यस्तै प्रदेश नं ३ मा काँग्रेसले एक स्थान मात्र जितेको छ । यसैगरी नयाँ शक्तिले पनि एक स्थानमा जित हासिल गरेको छ ।

प्रदेश नं ५ को २६ प्रतिनिधिसभाका क्षेत्रमध्ये वाम गठबन्धनले १८ स्थानमा जित हासिल गरेको छ । एमाले ११ स्थानमा विजयी भएको भने माओवादी केन्द्र सात स्थानमा विजयी भएको छ । त्यस्तै काँग्रेस पाँच, संघीय फोरम एक, राष्ट्रिय जनमोर्चा एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् ।

यसैगरी प्रदेश नं ६ को १२ प्रतिनिधिसभाका क्षेत्रमा पनि वाम गठबन्धनको बहुमत रहेको छ । एमाले छ र माओवादी केन्द्र पाँच स्थानमा विजयी भएका छन् भने स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् । प्रदेश नं ६ मा काँग्रेसले एक स्थानमा पनि विजयी हुन सकेन ।

प्रदेश नं ७ को प्रतिनिधिसभाका १६ क्षेत्रमध्ये वाम गठबन्धन १३ स्थानमा विजयी भएको छ । एमाले १० र माओवादी केन्द्र तीन स्थानमा विजयी भएका छन् ।

त्यस्तै काँग्रेस एक स्थानमा मात्र विजयी भएको छ । प्रदेश नं ७ बाट प्रत्यक्षतर्फ काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामात्र विजयी हुुनुभएको छ । त्यस्तै राजपा नेपालका उम्मेदवारले एक स्थानमा जित हासिल गरेका छन् भने एक स्थानमा मतगणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्