५२.४ मेगावाटको लिखु–४ को काम सुरु, जुटयो १० अर्ब १६ करोड



१ पुस, काठमाडौं ।
रामेछापमा निर्माण हुन लागेको लिखु–४ जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटेको छ । रामेछाप र ओखलढुंगा जिल्लाको सिमाना भएर बग्ने लिखु बेसिनको सबैभन्दा ठूलो आयोजना लिखु ४ जलविद्युत् आयोजनाको काम अगाडि हो । आयोजनाको निर्माण गर्न प्रवद्र्धक कम्पनी ग्रिन भेन्चर प्रालि र ऋण लगानीकर्ता बैंकहरूबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । आयोजनाको कुल १० अर्ब १६ करोड रुपैयाँ लगानीमध्ये ७५ प्रतिशत बैंकहरूको र २५ प्रतिशत ग्रिन भेन्चरको रहेको छ । आयोजनामा नबिल बैक, लक्ष्मी बैंक र ग्लोबल आइएमई बैंकले संयुक्त अगुवाइ गरेका छन् ।

आयोजनामा नबिल बैंकले १ अर्ब ४२ करोड, लक्ष्मी बैंकले १ अर्ब २५ करोड, ग्लोबल आइएमई बैंकले १ अर्ब २५ करोड, सनराइज बैंकले १ अर्ब, नेपाल एसबिआई बैकले १ अर्ब, प्रभु बैंकले ८५ करोड र सानिमा बैंकले ८५ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । सहवित्तीयकरणसँगै विगत ९ वर्षदेखि निर्माण सुरु हुन नसकेको लिखु ४ जलविद्युत् आयोजनाको निर्माण औपचारिक रूपमा अगाडि बढेको छ । लिखु नदीबाट ५२ दशमलव ४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको ग्रिन भेन्चरका अध्यक्ष सुवासचन्द्र सांघाईले जानकारी दिए ।

आयोजनावाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको न्यू खिम्ती सब स्टेसनमा जोड्ने गरी काम अगाडि बढाएको छ । आयोजनास्थलदेखि न्यू खिम्तीसम्म २ सय २० केभिएको डबल सर्किटको १८ किमि प्रसारणलाइन काम सुरु भइसकेको छ । आयोजनाको हेड २ सय १६ मिटर हुनेछ भने सुरुङको लम्बाइ ४.२ किलोमिटर हुनेछ ।

आयोजनाको सबस्टेसन ओखलढुंगा जिल्लाको साविक रंगनी गाविसमा पर्छ । आयोजनाले लिखुमा एउटा पक्की पुल निर्माणका साथै ४६ किलोमिटर लामो सडक निर्माण र ४ सय ५० रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । लिखुबाट वार्षिक ५३ करोड ४० लाख युनिट बिजुली उत्पादन हुनेछ । आयोजना साविकको ओखलढुंगाको रंगनी, पोकली गाविस र रामेछापको दुरागाउँ, सैपु र भुजी गाविसमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्