बेथानमा सांसद श्रेष्ठ र ढुंगेललाई एउटै माला लगाइदिएपछि……



१ पुस, रामेछाप ।
रामेछापको बेथानमा स्थानीय आमा समुहले निर्वाचनमा मिलेकोजस्तै गरी आगामी दिनमा पनि मिलेर अगाडि बढन सुझाव दिदै प्रतिनिधि सभामा निर्वाचित सांसद श्यामकुमार श्रेष्ठ र प्रदेशसभा क्षेत्र नम्बर २बाट निर्वाचित सांसद कैलाश ढुंगेललाई एउटै माला लगाइदिएका छन् । बामगठबन्धनकै कारण निर्वाचनमा राम्रो मत ल्याएर विजयी भएको भन्दै स्थानीयले कम्युनिष्ट पार्टीहरु मिलेर देशको समृद्धि र विकास गर्न आग्रह गरेका हुन् ।

सुनापति गाउँपालिका–४ बेथानको गाविस भवनमा आयोजित चुनावी विजयी सभामा प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद श्यामकुमार श्रेष्ठले आगामी दिनमा आफू जनताको जनादेश अनुसार नै अगाडि बढने बताए । उनले भने,‘रामेछापको विकास निर्माणमा प्रतिबद्धत भएर लाग्ने छु, पाँच बर्षको अवधिमा रामेछापमा परिवर्तन भएको प्रत्याभूति जनतालाई दिलाउने छु ।

निर्वाचनको क्रममा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार नै काम गर्छु, उनले भने । कार्यक्रममा नेकपा एमालेबाट प्रदेशसभा क्षेत्र नम्बर २ बाट सांसद भएका कैलाश ढुंगेलले रामेछापको विकास र समृद्धिको लागि आफू प्रतिबद्ध भएर लाग्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एव सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा, नेकपा एमालेका जिल्ला इन्चार्ज देवशकंर पौडेल, पूर्व सभापति डिल्लीमान तामाङ, नेकपा माओवादी केन्द्रका नेता टंकलाल घिसिङ ‘टकल’ लगायतको सहभागीता रहेको थियो । बाम गठबन्धनले प्रदेश नम्बर २ को चुनावी विजयी सभा बेथानबाट सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्