रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाट पुलको काम रोकियो



२ पुस, रामेछाप ।
रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पुल निर्माणको कार्य रोकिएको छ । बर्षाको कारण रोकिएको पुल असोजबाट सुरु भएको छ । पुलको तीन वटा पिलर निर्माण भएर ढलान गर्ने तयारी गरेपछि ढलानको लागि उपयुक्त गिट्टीको अभावमा काम रोकिएको हो । नौ बर्ष अघि सुरु भएको पुल निर्माणका कार्यलय गत बर्षबाट गति लिएपछि अहिले पुनः गिटीको अभावमा काम रोकिएको छ । रामेछापपट्टी पर्ने पिलर निर्माणको कार्य सम्पन्न गर्न केही बाँकी रहेको छ ।

खैरेनीघाटमा समयमा पुल निर्माण नहुँदा बर्षाको समयमा रामेछापवासीले ठूलो सास्ती पाउदै आएका छन् । करिब नौ करोड रुपैयाँ लागतमा नौ बर्ष अघि सुरु भएको पुल निर्माणको कार्य पुनः पुलको डिजाइन, बर्षा र ठेकेदार कम्पनीको कारण ढिला हुँदै आएको छ ।

खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले पुलको ढलान तत्काल गर्नको लागि ठेकेदार कम्पनीलाई दबाब दिएको बताए । पुल निर्माणको जिम्मेवारी पाएका निर्माण व्यावसायी राम मैनालीले नजिकै आसपास ढलानको लागि आवश्यक गिट्टी नपाइएकाले अन्यत्रैबाट ल्याएर भएपनि ढलान गर्ने तयारीमा भइरहेको रामेछाप न्युजलाई जानकारी दिए । रामेछापवासीले यसै बर्ष पुल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्