रामेछापका पूर्व सिडियो पौडेलले पाए ‘इन्टिग्रिटी आइडल २०१७’ को उपाधी



३ पुस, काठमाडौं । सन् २०१७ को ‘इन्टिग्रिटी आइडल’को उपाधी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले प्राप्त गरेका छन् । रामेछापका पूर्व प्रमुख जिल्ला अधिकारी समेत रहेका पौडेलले सोमवार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच पौडेललाई ‘इन्टिग्रिटी आइडल २०१७’ घोषणा गरिएको हो ।

यस वर्षको ‘इन्टिग्रिटी आइडल’ मा छनौट भएका अन्तिम पाँच मध्ये एसएमएस र वेभ साईटबाट प्राप्त मतका आधारमा पौडेल ‘‘सर्वोत्कृष्ट’ अर्थात् ‘इन्टिग्रिटी आइडल’ को छनोटमा परेका हुन् ।

एसएमएस र वेभसाईटबाट गरी प्राप्त भएको ४१ हजार ४ मत मध्ये कुल ३५ हजार १ सय ११ मत सदर भएको थियो । जसमध्ये विजयी शेष नारायण पौडेलले सवैभन्दा बढी अर्थात् ९ हजार ९ सय ३० मत प्राप्त गरेका थिए ।

‘इन्टिग्रिटी आइडल २०१७’ को उपाधी पाउन सफल पौडेलले कार्यक्षेत्रमा खटिँदा त्यहाँको भौगोलिक, सांस्कृतिक, आर्थिक अवस्था र समुदायको अध्ययन गरेर योजनाबद्ध ढंगले सेवाग्राहिको हितमा काम काम गर्ने गरेको र विभिन्न जिल्लामा बस्दा जनताका लागि उदाहरणीय र प्रशंसनीय काम गरेको आयोजक संस्था एकाउन्ट्याविलिटी ल्यावले जनाएको छ ।

कार्यक्रममा लोकसेवा आयोगको अध्यक्ष उमेश प्रसाद मैनालीले उत्कृष्ठ पाँचै जनालाई प्रशंसापत्र र ट्रफि सहित सम्मान गर्दै कर्मचारीले सदैब जनताको सेवक भएर काम गर्न आवश्यक रहेको धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्