नवनिर्मित विद्यालय भवनको साचो हस्तान्तरण



४ पुस, काभ्रे ।
भुकम्पको कारण भत्किएको काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ नौविसे महादेवस्थानस्थित कालिदेवी आधारभूत विद्यालयको भवन निर्माण कार्य सम्पन्न भएको छ । स्वच्छद/खानी जेभीले निर्माण गरेको सो विद्यालय भवनको साचो खानी निर्माण सेवाका प्रवन्धक रत्न गौतमले हस्तान्तरण गरेका हुन् ।


एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोग, जिल्ला आयोजना कार्यान्वयन इकाई र जिल्ला शिक्षा कार्यालय, काभ्रेपलाञ्चोकको समन्वयमा निर्माण कार्य सम्पन्न भएका विद्यालयका चारवटा भवन हस्तान्तरण गरिएको हो ।


कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले २०७२ को महाभूकम्पले सबैभन्दा बढी विद्यालय भवन क्षति पु¥याएको बताउदै विद्यालयको पुनःनिर्माण गर्न दाताहरुले धेरै सहयोग गरेको बताए । कार्यक्रममा एशियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक मक्थोर खामुदखानोभले भूकम्पबाट क्षति पु¥याएको नेपालका विभिन्न जिल्लाका विद्यालय भवन पुनःनिर्माणका लागि काम भइरहेको बताए ।


काभ्रेको मण्डन देउपुरस्थित नौविसेमा निर्माण गरेको विद्यालय भवन तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न भएको हो । एडिबीको सहयोगमा निर्माण भएको सो विद्यालयका कक्षा कोठा आधुनिक सुविधा सम्पन्न रहेको छ । एडिबीको दुई करोड ७२ लाख ७५ हजार १६२ लागत सहयोगमा निर्माण कार्य सम्पन्न भएको हो । त्यसरी निर्माण गरेको विद्यालयको चारवटा भवनमा कक्षा सञ्चालन, बाल विकास केन्द्र र संगीत कक्षा, कार्यालय, पुस्तकालय, किचेन र सुरक्षा गार्ड कोठा रहेका छन् ।


यसरी निर्माण गरिएको भवन अपांगमैत्री, भूकम्प प्रतिरोधी किसिमको, फर्निचर, सोलार ब्याकअप सिस्टम र कम्प्युटर ल्याब लगायतको सुविधा सम्पन्न रहेको छ । भूकम्प अतिप्रभावित आठवटा जिल्लामा भइरहेको विद्यालय भवन निर्माण मध्येको सो विद्यालय भवन सम्बन्धित निकायलाई हस्तान्तरण गरेको पहिलो विद्यालय हो । तोकिएको समयभित्र नै विद्यालय निर्माण गरेर हस्तान्तरण गरेको खानी निर्माण सेवाका प्रबन्धक रत्न गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्