ढुक्क हुनुहोस लोडसेडिङ हुन दिदैनौः कुलमान घिसिङ



६ पुस, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि हातलमा पुनः लोडसेडिङ नहुने विश्वास दिलाएका छन् । पुनः लोडसेडिङ हुने गलत समाचारको पछि नलाग्न आग्रह गर्दै उनले विद्युत प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युत्भार कटौती नगर्ने बताएका हुन् ।

विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युत्भार कटौती हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले बत्ती ननिभ्ने प्रष्ट पारेको हो ।हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित/अघोषितरुपमा कुनै प्रकारको विद्युत्भार कटौती नभएको घिसिङले जानकारी दिए ।
उनले भने,‘समस्या देखिएका स्थानमा प्राविधिक टोली खटाएर समाधान गर्दैआएका छौं ।’
विद्युत् आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकको मागलाई ध्यान दिई फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइएको र वितरण प्रणालीलाई सदृढ गरिएको घिसिङले बताए ।
हिउँद लागेसँगै खोला तथा नदीमा पानीको वहाब घट्दा विद्युत् उत्पादनमा कमी आउने गरेको छ । यही समयमा विद्युत् माग बढ्ने हुँदा उपलब्ध सीमित उत्पादनले विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउदै उनले लोडसेडिङ भने हुन नदिने बताए ।

विद्युत् आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरण प्रतिबद्ध रहेको र ग्राहकलाई बत्ती दिन गत वर्षझै यस वर्षको हिउँदमा समेत प्राधिकरण दृढताका साथ लागिपर्ने प्राधिकरणले जनाएको छ । विद्युत्भार कटौती न्यूनीकरण गर्न प्राधिकरण विद्युत् माग र आपूर्ति व्यवस्थापनको योजना बनाएर कार्यान्वयनमा लागेको छ । विद्युत् उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत् आयोजनाबाट ३७२ मेगावाट, निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ ।

अपुग करिब ३०० मेगावाटका लागि औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत् माग हुने समयमा मात्र तीन घण्टा विद्युत् कटौती गर्ने गरेको छ । यस वर्षको हिउँदको विद्युत् मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युत् गृहका उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपुग विद्युत् भारतबाट आयात गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्