खैरेनीघाटको पुल समयमा नै सम्पन्न गर्न सांसद श्रेष्ठको निर्देशन



१२ पुस, रामेछाप ।
रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल निर्माणको कार्य समयमा नै सम्पन्न गर्न सांसद श्यामकुमार श्रेष्ठले ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । पुल निर्माणको कार्यले गति लिएको भएपनि ढलानको कार्यले तिब्र रुपमा अगाडि नबढेकोप्रति सांसद श्रेष्ठले असन्तुष्टि जनाएका छन् ।


मंगलवार खैरेनीघाटमा निर्माणाधिन पक्की पुलको अनुगमन गर्दै सांसद श्रेष्ठले यस बर्षको बर्षा अघि नै पुल निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् । नौ बर्ष अघि सुरु भएको खैरेनीघाट पुल निर्माणको काममा ढिलासुस्ती हुँदै आएको छ ।
पुल निर्माण नहुँदा रामेछापको सुनापति र दोरम्बा गाउँपालिका वासिन्दाले ठूलो सास्ती खेप्दै आएका छन् । पुलको तीन वटा पिलर निर्माण कार्य सम्पन्न भएर ढलान सम्पन्न भइसक्नु पर्ने भएपनि निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले बालुवा र गिट्टीको अभावमा काम अगाडि बढाउन नसकेको बताएको छ । पुल निर्माणमा कामदार निर्वाचनको लागि घर गएकाले अहिलेसम्म नफर्किदा काममा ढिलाई भएको स्थानीयले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्