को हुन समानुपातिक सांसद हिमाली गोले ?



दोलखा जिल्ला क्षेत्र नम्बर १ बाट समानुपातिक तर्फको बन्द सूचीमा सिफारिस भएकी हिमाली गोले प्रदेश नम्बर ३ बाट समानुपातिका सांसद बनेकी छिन् । नेकपा माओवादी केन्द्रले गोलेलाई आदिवासी जनजातिको महिलाको एक नम्बरमा बन्द सूचीमा समावेश गरेको थियो ।
आमा काइली गोले र बुबा रामबहादुर गोलेको कोखबाट २०३७ साल ६ महिना १ गते दोलखा जिल्ला साबिक गैरिमुदी गाविस–१ र हाल वैद्येश्वर गाउँपालिका–१मा जन्मिएकी गोले सानै उमेरदेखि विद्राही स्वभावकी थिइन । एसएलसीसम्म अध्ययन गरेकी गोले शहीद रितबहादुर खड्का र शहीद (बुबा रामबहादुर गोले)को प्रेरणाको कारण राजनीतिमा होमिएकी थिइन ।

तस्बीरः विकासदेव लामा

तत्कालिन जनयुद्धको समयमा माओवादीले रामेछापस्थित खिम्तीको बैंक आक्रमण गरेपछि तत्कालिन अवस्थामा सांसद गोलेलाई प्रहरीले यातना सहित सामुहिक वलात्कार गरेको थियो । प्रहरीको दिएको मानसिक र शारीरिक यातना, समाजमा देखिएको विभेद अन्याय अत्याचारको विरुद्ध २०५६ सालमा जनयुद्धमा होमिएकी थिइन ।
१८ बर्षको कलिलै उमेरमा प्रहरीको सामुहिक वलात्कारको पीडा सहन बाँध्य भएकी गोलेले जनयुद्धको समयमा दजनौ मोर्चामा बालबाल बाँचेको रामेछाप न्युजलाई बताइन । जनयुद्धको समयमा दोलखामा रहेर अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को उपाध्यक्ष भए काम गर्दै २०५७ सालमा जनमुक्ति सेनामा सहभागी भएर काम गरेको उनले बताइन ।

दोरम्बा चौकी आक्रमण, ठोर्कपा, मैनापोखरी, धोवी, सोलु सल्लेरी, भोजपुर, चैनपुर, बन्दीपुर, हुँदै सर्लाहीको मंगलवा लगायतका दर्जनौ मोर्चामा एम्बुस छल्दै बालबाल बचेको सम्झिदै उनले रामेछाप न्युजसँग भनिन,‘चैनपुर आक्रमणमा महिला सेक्सन कमाण्ड म नै थिए,अगाडिको साथी ढल्नु भो, मसँगै रहनुभएको पछाडिको साथी पनि ढल्नु भो, म भने बाँँच्न धन्न सफल भए ।’
काभ्रेको मादनकुडारीमा सेनाले लखेटदा मस्याङबारीमा लुकेर बाँचेको पनि उनले स्मरण गरिन । कम्पनी कमिसारको जिम्मेवारी पूरा गरेकी गोलेले २०६२ सालमा रामेछापका जनमुक्ति सेनाका कमाण्डर सुमन लामासँग जनवादी विवाद गरेकी थिइन । उनी अहिले दोलखाबाट समानुपातिका सांसद बनेपनि रामेछापकी बुहारी भएकी छिन् । सांसद गोले हाल अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्य र तामाङ मुक्ति मोर्चाको केन्द्रीय सदस्य रहेकी छिन् । यसै विषयमा रामेछाप न्युजको लागि सांसद गोलसँग गरिएको कुराकानीः–

तपाईलाई पार्टीले समानुपातिक सांसद बनाएको छ कस्तो लागेको छ ?
–हिजो वर्ग संघर्षको भट्टीमा सर्ववहारा वर्गको लागि लडियो । अहिले यहाँसम्म संघर्ष गरेर आएको छु । जनताको हित र सर्वहारा वर्गको हितको लागि काम गर्छु । जनताको सपना पूरा गर्ने बाटोमा प्रतिबद्ध भएर लाग्ने छु । समाजवाद लक्ष्य बोकेर हिजो बन्दुक बोकेर हिडियो अहिले क्रमश लक्ष्य प्राप्तको बाटोमा देश अगाडि बढेको छ । पार्टीले विश्वास गरेर सांसद बनाएको छ । खुसी छु ।
प्रदेशमा रहेर कसरी काम गर्नुहुन्छ ?
प्रदेश सभामाको लागि आवश्यक कानुन निर्माण गर्न भूमिका खेल्छु । पार्टीले विश्वास गरेर सांसद बनाएको छ । म देश र जनतालाई केन्द्रमा राखेर काम गर्छु । जनताको मतलाई आत्मसाथ गरेर काम गर्छु ।
अन्तिममा के भन्न चाहनुहुन्छ ?
मलाई पार्टीले दोलखाबाट समानुपातिकको सूचीमा सिफारिस गर्यो । सिंगो ३ नम्बर प्रदेशका जनताले दिएको मतबाट नै म समानुपातिक सांसद बन्न सफल भएको छु । सबैलाई धन्यवाद दिन चाहन्छु ।

 

प्रतिक्रिया दिनुहोस्