फेरिदै दोरम्बा गाउँपालिकाको मुहार (फोटोफिचर)



२० पुस, रामेछाप ।
सुनिता तामाङ
रामेछापको दोरम्बा गाउँपालिका जनप्रतिनिधिहरु आएसँगै विकास निर्माणको कामले गति लिएको छ । गाउँपालिकाभित्र रहेका सडक, भुकम्पपछिको पुननिर्माण लगायतको कामले गति लिएको हो ।  गाउँपालिकाभित्र रहेको ७ वटा वडाबाट गाउँपालिकाको केन्द्रसम्म जोडिएको सडकलाई १२ महिना नै सञ्चालन गर्ने उदेश्यको साथ तीब्र गतिमा गाउँपालिकाभित्रको सडक निर्माण र स्तरउन्नतीको काम गरिरहेको छ ।


जिल्लाको सदरमुकाम मन्थली र राजधानी काठमाडौ जोडने दोरम्बा–अग्लेश्वर हुँदै गाल्वासम्मको सडकको स्तरउन्तीको काम धमाधम भइरहेको छ । दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाले सडक सञ्जाललाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको रामेछाप न्युजलाई बताए । उनका अनुसार दोरम्बा अग्लेश्वरीदेखि गाल्वासम्मको सडकको स्तरउन्नतीको लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम भइरहेको छ ।


उपभोक्ता समितिले सो सडक खण्ड अन्तर्गत ५० प्रतिशत काम सम्पन्न गरेको छ । दोरम्बाको मानेडाँडा हुँदै सो सडक दोरम्बा गाउँपालिकाको केन्द्र टोकरपुरसम्म जोडिएको छ । विकासको मेरुदण्डको रुपमा रहेको सडक निर्माणलाई नै प्राथमिकता दिएको गाउँपालिका उपप्रमुख कृशला घिसिङले बताइन । गाउँपालिकाको स्थायी सडकको रुपमा रहेको सो सडक निर्माणको काम आगामी बर्ष पनि प्राथमितामा राखिने उनले जानकारी दिइन ।


गाल्वा दोरम्बा सडकलाई सात मिटरको चौडाइ लम्बाईको बनाइएको छ । एक महिनाभित्र बाँकी सम्पन्न गर्ने लक्ष्य लिएको दोरम्बा, अग्लेश्वरी गाल्वा सडक योजनाका उपभोक्ता समितिका अध्यक्ष उदय रानामगरले बताए । विगतमा ठूलो बजेट खर्च गर्दा पनि व्यवस्थित हुन नसकेको सडक अहिले उपभोक्ता समितिले थोरै बजेटमा पनि राम्रो र गुणस्तरीय काम गर्न सफल भएको उनले बताए । विशेषगरी उपभोक्ता समितिले अग्लेश्वरीको भीरमा स्थायी रुपमा सडक निर्माणको लागि ग्याबिङ र वाल निर्माणको काम भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्