रामेछाप र सिन्धुलीका सांसदको एउटै बोलीःगंगालाल र पुष्पलालको जन्मभूमिको विकास गछौं



२२ पुस,रामेछाप ।
रामेछाप र सिन्धुलीका प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुले शहीद गंगालाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मभूमिका विकास गर्न लाग्ने प्रतिबद्धता जनाएका छन् । गंगालाल र पुष्पलालको जन्मभूभि भंगेरीमा उभिएर रामेछाप र सिन्धुलीका नवनिर्वाचित सांसदहरुले रामेछापको समृद्धि र विकासमा एकताबद्ध भएर लाग्ने बताएका हुन् ।


शनिवार पुष्पलालको जन्मभूमि भंगेरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुली प्रतिनिधिसभा क्षेत्र नं २ का सदस्य हरिबोल गजुरेलले गंगालाल र पुष्पलालको जन्मथलोे रामेछापको भंगेरी, बिपी कोइरालाको पुर्खेउली थलो सिन्धुलीको दुम्जा र अंग्रेजलाई नेपालीले पराजित गरेको थलो सिन्धुलीको सिन्धुलीगढीलाई संयुक्त पर्यटन केन्द्र बनाएर अगाडि बढने बताए ।


रामेछापका प्रतिनिधिसभा सदस्य श्यामकुमार श्रेष्ठले रामेछापको भंगेरीलाई मार्स र माओको जन्मथलोजस्तै बनाएर नेपालको कम्युनिष्ट अध्ययन केन्द्रका रुपमा विकास गर्ने बताए । भंगेरीको ५२ रोपनी जग्गा सरकारले लिएर पार्क बनाउने कामको सुरुवात गरेको बताउदै उनले पार्क निर्माणसँग अध्ययन केन्द्र बनाउनका आफू लाग्ने बताए ।

रामेछापको प्रदेश तर्फको क्षेत्र नं २ का सांसद कैलाश ढुंगेलले अब गंगालालले कोरेको नक्सा र पुष्पलालले दिएको झण्डामा आपूmहरुले रङग भर्ने बताए । उनले भने,‘समृद्ध रामेछाप निर्माणको अभियान भंगेरीबाट सुरु हुन्छ ।’

कार्यक्रममा सिन्धुलीका प्रदेश सभा तर्फका सांसदहरु प्रदिप कट्वाल, वृद्धिमान माझी, लेखनाथ दाहाल लगायतले तीनलालको जिल्ला रामेछापलाई समृद्ध बनाउन आफूहरुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्