ओली र प्रचण्डबीच पार्टी एकता गर्ने यस्तो सहमति



२३ पुस, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता गर्ने सहमति भएको छ । पार्टी एकता, प्रदेश सरकार र राष्ट्रिय सभाको निर्वाचनबारे सहमति भएको हो ।
प्रचण्डले गत कार्तिक १७ गते भएको सहमति अनुसार नै अघि बढने सहमति भएको बताए ।


उनले आज भएको छलफल अनुसार सैद्धान्तिक र संगठनात्मक विषयमा दुबै दलहरुले आफ्नो न्यूनतम धारणा तय गर्ने, सैद्धान्तिक आधार के मान्ने भन्ने विषयमा मोटामोटी छलफल र संगठनको स्वरुप, कार्यशैली, संरचना र नेतृत्वका बारेमा छलफल भएपछि पार्टी संयोजन समितिको बैठक बस्ने सहमति भएको बताए ।
भोली दुबै पार्टीको बैठक बसेर सैद्धान्तिक र संगठनात्मक पक्षहरुमा छलफल गर्ने छ, उनले भने,‘पर्सी पार्टी संयोजन समितिको बैठक बस्ने निर्णय भयो ।’

दुबै दलले छलफल गरे अनुसार, पर्सी बस्ने पार्टी संयोजन समितिले पार्टीको कार्यदिशाको मोटामोटी आधार र संगठन तथा नेतृत्वबारे छलफल गर्ने छ । यी कुरामा सहमति जुटेमा पार्टी एकताको प्रक्रियाका बारेमा समेत संयोजन समितिमा सहमतिमा पुगिने छ । भ्रम र आशंका फिजाइए पनि अब एकताको प्रक्रिया निकै अगाडि बढेको छ । कतिपय प्राविधिक पक्षमा भोली र पर्सी छलफल हुन्छ र टुंगो लाग्छ, प्रचण्डले भने ।
माओवादी केन्द्रले इतिहासको मूल्यांकन र खासगरी जनयुद्दप्रति एमालेको धारणा, समाजवादी क्रान्तिको न्यूनतम कार्यदिशा तथा नेतृत्वबारे आफनो स्प्ष्ट धारणा अघि सारिसकेको छ । एमालेभित्र भने पार्टी एकताका कतिपय पक्षमा आपसी विवाद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्