रामेछापका वडा अध्यक्षलाई टेर्दै टेर्दैनन वडा सचिव



२७ पुस, रामेछाप ।
स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि सहज रुपमा सेवा सुविधा पाउने आशा र अपेक्षा रामेछापवासीले गरेका थिए । तर निर्वाचित जनप्रतिनिधिहरु आएपनि वडा सचिवहरुले सहयोग नगर्दा समस्या सृजना भएको छ । रामेछापमा २ नगरपालिका र ६ गाउँपालिका रहेका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको ८ महिना वितिसकेको छ । तर अझै पनि वडा कार्यालयमा सचिवहरु पुगेका छैनन् ।
विगतमा सदरमुकाममाबाटै गाविस चलाउदै आएको सचिवहरु नै वडा सचिव भएका छन् । तर उनीहरुले गाउँगाउँमा गएर काम गर्ने जाँगर अझै देखाएका छैनन् । रामेछापको ६४ वटामा खटिएका सचिवहरु विभिन्न बहानावाजी गरेर सदरमुकाममा नै बस्दै आएकोप्रति निर्वाचित वडा अध्यक्षहरु रुष्ट भएका छन् । खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले सचिवले सहयोग नगरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘सचिव कार्यालय समयभरी बस्नु पर्ने हो तर विभिन्न बहाना बनाएर महिनाको थोरै मात्र समय वडा कार्यालयमा बस्छन ।’
विगतमा द्धन्द्धकालिन अवस्थालाई कारण देखाउदै रामेछापका सबै गाविस सचिवहरुले सदरमुकाम मन्थलीबाट गाविसको कामकाज सञ्चालन गर्दै आएका थिए । नयाँ संरचना अनुसार वडा अध्यक्षहरु दैनिक रुपमा कार्यालयमा उपस्थित भए पनि वडा सचिवहरु वडा कार्यालमा बसेर सेवा दिन जाँगर देखाएका छैनन् ।
वडा अध्यक्षहरुले सचिवहरुलाई वडा कार्यालयमा बस्न पटक–पटक आग्रह गरेपनि आफूहरुको काम नै नभएको बताउदै विदा बस्ने, घरमा काम छ भन्दै हिडने कारणले वडा अध्यक्षहरु दिक्क दिक्क भएका छन् । सबै वडामा वडा सचिवहरु पनि छैनन् । एउटै सचिवले दुई वटा वडा कार्यालयहरु हेर्नुपर्ने बाँध्यता पनि छ ।

वडा अध्यक्षहरुले बारम्बार वडा कार्यालयमा बस्न आग्रह गर्दा पनि काम छ भन्दै सदरमुकाम मन्थली जाने गरेका छन् । संविधान अनुसार प्रत्येक स्थानीय तह स्वयत्त हुनेछ भन्ने उल्लेख गरिएको छ ।
सुनापति गाउँपालिका–४ बेथानका वडा सचिव कौशलजंग थापा आफू काम गर्दा वडा कार्यालय जाने गरेको बताउछन । उनले भने,‘म वडा कार्यालय त जाने गरेको छ हाम्रो काम नै छैन् ।’ झण्डै १५ बर्ष भन्दा पनि वडा सचिवले नै साविक गाविस अध्यक्ष र सचिवको भूमिका निर्वाह गर्दे आएका थिए । यस भन्दा अघि गाविस सचिवले विभिन्न शीर्षमा आफै पनि बजेट विनियोजन गर्न पाउथे ।
तर अहिले सबै अधिकार सम्बन्धित गाउँपालिका र नगरपालिकाहरुले नै गर्दै आएको छ । यतिसम्म कि सचिवहरुले असयोग गर्न थालेपछि सचिव कार्यालय आएको बेला वडा अध्यक्षहरुले विभिन्न अनुसूचि र फर्महरुमा हस्ताक्षर समेत गराएर राख्ने गरेका छन् । रामेछापको ६४ वटा मध्ये अहिले पनि करिब २० जना भन्दा बढी वडा कार्यालयमा सचिवहरु रित्त रहेका छन् । स्थानीय तहको सरकार सञ्चालन भएको आठ महिना वितिसक्दा समेत अझै स्थानीय तहले आफ्नो वडा कार्यालयहरुमा सचिवको व्यवस्थापन गर्न सकेको छैन् । जसको कारण सेवाग्राहीहरुले सास्ती र हैरानी खेप्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्