कान्छारामले रामेछापमा दिने भनिएको एम्बुलेन्स भन्सारमै रोकियो



२९ पुस, रामेछाप ।
नेपाली कांग्रेस रामेछापबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित उम्मेदवार एवं नेता पूर्णबहादुर तामाङ (कान्छाराम)ले दिने भनेको एम्बुलेन्स भन्सारमै रोकिएको छ । निर्वाचनको क्रममा एम्बुलेन्स र डोजरलाई नै चुनावी एजेण्डा बनाएका कान्छारामले आफू पराजित भएपनि एम्बलेन्स दिने घोषणा गरेका थिए । तर निर्वाचन सम्पन्न भएको एक महिना वितिसक्दा समेत भन्सारमै रोकिएको छ । निर्वाचन अघि नै उनले एम्बुलेन्स भन्सारमा आइपुगेको बताएका थिए ।

नेता कान्छारामले आफूले वितरण गर्ने भनिएको एम्बुलेन्स भन्सारमा आएर रोकिएको रामेछाप न्युजलाई बताए । उनले भने,‘एम्बुलेन्स आउने प्रक्रियामा छ, अझै केही समय लाग्छ ।’ कान्छारामले रामेछापको विभिन्न गाउँपालिको लागि निशुल्क एम्बुलेन्स वितरण गर्ने घोषणा गरेका थिए ।
उनले रामेछाप न्युजसँग भने,‘प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट एम्बुलेसन्को साचो हस्तान्तरण गर्नको लागि कुरा गरिरहेको छु ।’ तर उनले कति समयभित्र एम्बुलेन्स आउछ भन्ने कुरा भने स्पष्ट पार्न चाहेनन् ।
निर्वाचनको क्रममा उनले निर्वाचनमा हार जित जे भएपनि पाँच वटा एम्बुलेन्स र रामेछापको दुई वटा प्रदेशसभा निर्वाचनमा एक÷एक वटा इस्काभेटर प्रदान गर्ने घोषणा गरेका थिए । इस्काभेटर कहिले दिनुहुन्छ भन्ने जिज्ञासामा कान्छारामले भने,‘भर्खर निर्वाचन सम्पन्न भएको छ, एम्बुलेन्स आउने प्रक्रियामा छ, हेरौ न ।’

प्रतिक्रिया दिनुहोस्