आर्ट काउन्सिलमा सुनैनाको समानता



१ माघ, काठमाडौं ।
मिथिला कलामार्फत् महिला समानताका आवाज उठाउँदै आएकी कलाकार सुनैना ठाकुरको दोस्रो एकल चित्रकल प्रदर्शनी ‘समानता’ सोमबारदेखि नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ । कलाकार ठाकुरको पहिलो एकल चित्रकला प्रदर्शनी अमेरिकामा भएको थियो ।


प्रदर्शनीको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले कलाकार सुनैनाले चित्रकला मार्फत् नेपाली महिला सशक्तिकरणको क्षेत्रमा गर्विलो आवाज उठाउनुभएको बताउनुभयो ।यस्तै, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभाग प्रमुख एससी सुमनले मिथिला क्षेत्रको जिवन्त कलाको रुपमा रहेको मिथिला कलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थान पाएको बताए । कार्यक्रममा कलाकार सुनैना ठाकुरले महिलामाथि हुने गरेको हिंसालाई कलाको माध्यमबाट आवाज उठाउँदै आएको बताइन ।

मिथिला चित्रकलामा पृथक पहिचानसाथ सक्रिय कलाकार सुनैनाले विशेषत महिला अधिकार, सशक्तिकरण, समानता, महिलामाथि हुने हिंसाका विषयमा चित्र कोर्दैै आउनुभएको छ । प्रदर्शनीमा बुद्ध, माछा रास, लाइफ अफ ट्रि, माया प्रेम, महिला नेतृत्व, धर्म निरपेक्ष नेपाल, बौद्धिक सत्य आमा, गोदना रास (टाटु), नारीको समस्त रुप, होलिका दहन, नारी शक्ति, आमा छोराको प्रेम, अर्ध नारेश्वर, ग्रामीण परिवेश, नारी पुरुष एक समान, ममतामयी आमा, जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी, नारी चन्द्र सूर्यको प्रतिक, ज्योति समस्त प्रतिक नेपाललगायत शीर्षकका २८ चित्रकला राखिएका छन् ।


महोत्तरी जिल्ला जलेश्वर–४ की सुनैनाले पोखरा, काठमाडौँ, भारतलगायत स्थानमा कला प्रदर्शनी तथा कला कार्यशालामा सहभागी भइसक्नुभएको छ । कलाकार सुनैनाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट ललितकला विशेष पुरस्कार, अमेरिकाबाट कमन ग्राउण्ड अवार्डलगायत सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ । प्रदर्शनी माघ ६ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्