को हुन ७ वटा प्रदेश सभाका ७ प्रदेश प्रमुख ?



३ माघ, काठमाडौं ।
सरकारले सात वटै प्रदेश सभाको लागि प्रदेश प्रमुख तोकेको छ । प्रदेश प्रमुखको विगतको र वर्तमानको बारेमा धेरै चासो हुनु स्वभाविकै पनि हो । को हुन त सात प्रदेशका सात प्रदेश प्रमुखहरु ?

प्रदेश नम्बर १

डाक्टर गोविन्द सुब्बा
प्रदेश नम्बर १ का प्रदेश प्रमुख डाक्टर गोविन्द सुब्बा कांग्रेस निकट विद्वान नेता मानिनुहुन्छ । उहाँ अंग्रेजीका प्राध्यापक समेत हुनुहुन्छ । धनकुटाको सिधुवा प्राविबाट प्राथमिक शिक्षा हासिल गर्नुभएका उहाँले गोकुण्डेश्वर माविबाट एसएलसी पास गर्नुभएको हो ।

धनकुटा क्याम्पसबाट प्रमाणपत्र र स्नातक तह उत्तीर्ण सुब्बाले कीर्तिपूर बहुमुखी क्याम्पसबाट अंग्रेजीमा स्नातकोत्तर गर्नुभएको हो । उहाँले भाषा विज्ञानमा विद्यावारिधि गर्नुभएको छ । अहिले उहाँ नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)मा भाषा विज्ञानका प्राध्यापक हुनुहुन्छ ।

उहाँ २०३६ को जनमत संग्रहपछि नेपाली कांग्रेससँग जोडिनुभएको थियो । उज्यालो अनलाइनसँग कुरा गर्दै सुब्बाले सुरुमा आफू वामपन्थी राजनीतिमा सक्रिय रहेको बताउनुभयो । २०४९ सालको स्थानीय चुनावमा धरान नगरपालिकाको मेयरमा उठ्नुभएको थियो । उहाँले त्रिविको जागिरबाट राजीनामा नै दिएर चुनावमा उत्रे पनि पराजित हुनुभएको थियो ।

प्रदेश २

रत्नेश्वरलाल कायस्थ
प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थ संघीय समाजवादी फोरमका केन्द्रीय सचिव हुनुहुन्छ । उहाँ नेपाल सरकारका पूर्व सचिवसमेत हुनुहुन्छ । राष्ट्रिय योजना आयोगको सदस्यसमेत भएर काम गरेको अनुभव उहाँसग छ । उहाँले लण्डनको इम्पेरियल कलेजबाट भूविज्ञानमा एमएस्सी गर्नुभएको छ । उहाँ जलस्रोत विज्ञका रुपमा पनि परिचित हुनुहुन्छ । उहाँ प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवारसमेत हुनुहुन्थ्यो ।

प्रदेश नम्बर ३

अनुराधा कोइराला
प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइराला चर्चित समाजसेवी हुनुहुन्छ । उहाँ दिज्यू नामले लोकप्रिय हुनुहुन्छ । उहाँ कालिम्पोङको सेन्ट जोसेफ कन्भेन्ट स्कूलमा पढ्नुभएको हो ।

मदर टेरेसालाई आफ्नो प्रेरणाको श्रोत बताउने कोइराला काठमाडौंका झण्डै २० वर्ष अध्यापन गर्नुभएको थियो । उहाँले सन् १९९३ मा माइती नेपाल नामक संस्था स्थापना गरेर बेचिएका महिला तथा बालबालिकाको उद्धारमा उल्लेखनीय योगदान गर्नुभएको छ । उहाँ सन् २०१० मा सिएनएन हिरो बन्नुभएको थियो ।

उहाँ नेपालमा माइती नेपाल संस्थामार्फत बेचिएकी चेलीको उद्दार गर्दै आइरहनु भएको छ । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा सहायक महिला तथा बालबालिका तथा समाज कल्याण मन्त्री बन्नुभएको थियो । उहाँ केही समयअघि मात्रै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । उहाँले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार तथा सम्मान पाउनुभएको छ ।

प्रदेश नम्बर ४

बाबुराम कुँवर
प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुनुहुन्छ ।कुँवर लामो समय वकालती पेशामा आबद्ध हुँदै सुशील कोइराला नेतृत्वको सरकारको पालामा महान्यााधिवक्ता हुनुभएको थियो । कुँवर नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको छाता संगठन डेमोक्रेटिक लयर्स एसोसियसनका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । उहाँ संवैधानिक विषय तथा फौजदारी कानुनका विशेष ज्ञाताका रुपमा समेत परिचित हुनुहुन्छ ।

प्रदेश नम्बर ५

उमाकान्त झा
प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झा नेपाल सरकारका पूर्व प्रशासक तथा पूर्व मन्त्रीसमेत हनुहुन्छ । उहाँ खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९ मा स्वास्थ्य मन्त्री हुनुभएको थियो ।

त्यसअघि उहाँ उद्योग सचिवका रुपमा कार्यरत हुनुहुन्थ्यो । झाले मुख्य सचिवमा लिलामणि पौडेलको नियुक्तप्रति असहमति जनाउँदै राजीनामा दिनुभएको थियो । मधेसी मोर्चाले उहाँलाई मुख्य सचिव बनाउन जोड दिए पनि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले अस्वीकार गर्नुभएको थियो ।

प्रदेश नम्बर ६

दुर्गाकेशर खनाल
प्रदेश नम्बर ६ का प्रमुख दुर्गाकेशर खनाल पञ्चायत कालदेखि नै कांग्रेसका नेता हुनुहुन्छ । राजनीति सुरु गर्नुअघि उहाँ शिक्षक हुनुहुन्थ्यो । बहुदल आएपछि उहाँ कांग्रेसबाट राष्ट्रिय सभा सदस्य बन्नुभएको थियो । खनाल पूर्व सांसद समेत हुनुहुन्छ । उहाँले नेपाली अखबारमा नियमित रुपमा समसामयिक

प्रदेश ७

मोहनराज मल्ल
प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्ल केही समयअघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेसमा प्रवेश गर्नुभएको हो । उहाँ कांग्रेसमा प्रवेश गर्नुअघि राष्ट्रिय पञ्चायतका सदस्य पनि हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्