रामेछापमा एम्बुलेन्स थन्किए, बिरामीलाई सास्ती



४ माघ, रामेछाप ।
रामेछापमा बिरामीको सुविधाको लागि सञ्चालनमा ल्याइएका एम्बुलेन्स थन्किदा बिरामीलाई सास्ती भएको छ । सरकार र दाताले दिएको एम्बुलेन्स बारीको पाटामा अलपत्र पर्दा बिरामी मर्कामा परेका हुन् । रामेछापको सुनापति गाउँपालिका–४ बेथानस्थित जोमसा बजारमा विगत तीन बर्षदेखि एम्बुलेन्स थक्एिर बसेको छ ।

तत्कालिक गाविसले एम्बुलेन्सको व्यवस्थापन गर्न नसक्दा एम्बुलेन्स अलपत्र अवस्थामा रहेको थियो । एम्बुलेन्स सञ्चालन नहुँदा बिरामीलाई अस्पताल लैजान समेत कठिनाई हुने गरेको छ । सरकारले प्रदान गरेको उक्त एम्बुलेन्सको व्यवस्थापन गर्न समितिले पर्याप्त ध्यान नदिदा लाखौ रुपैयाँ पर्ने एम्बुलेन्स कवाडीमा परिणत भएको छ । गाउँलेहरुले पटक–पटक एम्बुलेन्स सञ्चालन गर्न माग गरेपनि मर्मत गर्ने बजेटको अभावमा बेथानमा एम्बुलेन्स थन्किएर बसेको छ ।

एम्बुलेन्स सञ्चालन हुन नसक्दा बिरामी पर्दा स्थानीयले मंहगो मुल्य तिरेर टाटासुमोमा अस्पताल लैजान बाँध्य छन् । सुनापति गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्ग घिसिङले बजेटको अभावमा एम्बुलेन्सको मर्मत गर्न नसकिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘एम्बुलेन्स मर्मत गर्न सात लाख रुपैयाँ लाग्छ, एम्बुलेन्स बनाउनको लागि गाउँपालिकाकाले बजेट नै दिएको छैन् ।’ आपूmले गाउँपालिकामा पटक–पटक एम्बुलेन्स मर्मत गरेर सञ्चालन गर्नको लागि बजेट आवश्यक भएको आवाज उठाए पनि सुनुवाई नभएको उनले बताए । तर सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले भने एम्बुलेन्स मर्मतको लागि बजेट छुटयाएको दावी गर्छन ।

सरकारले निशुल्क रुपमा प्रदान गरेको एम्बुलेन्स सञ्चालन गर्नको लागि स्वास्थ्य चौकी बेथान मातहत समिति गठन गरेपनि समितिले पर्याप्त ध्यान नदिदा तीन बर्ष अघि विग्रिएको एम्बुलेन्स नबन्ने अवस्थामा पुगेको छ । वडा अध्यक्ष घिसिङ भन्छन,‘गाविस हुँदै १ लाख पैतिस हजार रुपैयाँ छुटयाएको थियो, त्यो बेजट अन्य शीर्षकमा खर्च गरेर सकिएको रहेछ, गाउँपालिकाबाट एक रुपैयाँ पनि मर्मतको लागि बजेट विनियोजन भएको छैन ।’

थक्किएको एम्बुलेन्स मर्मत गरेर सञ्चालन गर्नको लागि गाउँपालिकाले ध्यान नदिएको भन्दै स्थानीयले आक्रोशित भएका छन् । बेथानमा थन्किएर बसेको एम्बुलेन्स सञ्चालनमा ल्याउन सकेको अवस्थामा गाउँपालिकाको चार वटा वडाका बासिन्लाई सुविधा हुनेछ । बेथानमा मात्र होइन रामेछापको लिखु गाउँपालिकाको बिजुलीकोट, मन्थली नगरपालिकाको मन्थली स्वाथ्य केन्द्र सालुमा पनि एम्बुलेन्स विग्रिएर थन्किएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरीक्षक केशवराज फ्यालले जिल्लामा रहेका एम्बुलेन्सको व्यवस्थापनमा स्थानीय तहले पर्याप्त ध्यान नदिएको बताउछन् । उनले रामेछाप न्युजसँग भने,‘अत्यावश्यक एम्बुलेन्स विग्रिएर थन्किनु राम्रो पक्ष होइन, बिरामीको ज्यान जोगाउने एम्बुलेन्स मर्मत गरेर सञ्चालन गर्नुपर्छ ।’ निकै मेहनत गरेर एम्बुलेन्स लैजाने र व्यवस्थापनमा ध्यान नदिदा धेरै एम्बुलेन्स माल पाएर पनि चाल नभएकोजस्तै भएका छन् ।

प्रतिक्रिया दिनुहोस्