रामेछापमा युवाहरुको नमूना कामः ट्राउट माछा पालनबाट लाखौको आम्दानी



६ माघ,रामेछाप ।
स्वेदशमा रोजगारी नभएको भन्दै दैनिक हजारौको संख्यामा युवाहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् । तर स्वदेशमै लगानी गरेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण रामेछापका तीन जना युवाहरुले दिएका छन् । रामेछापमा तीन जना युवाहरु मिलेर जिल्लामै नमूना कामको साथै राम्रो आम्दानीको स्रोत बनाउन सफल भएका छन् ।
वैदेशिक रोजगारीमा जानु भन्दा आफ्नै गाउँठाउँमा केही गर्न सकिन्छ भन्ने अठोटको साथ तीन जना युवा मिलेर रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा अहिले टा«उट माछाको फर्म सञ्चालनमा आएको छ । गाउँमा त्यसै खेर गइरहेको पानीलाई सदुपयोग गर्दै जिल्लामै पहिलो पटक बेतालीको मूलपानीमा युवाहरु मिलेर ट्राउट माछा पालन सुरु गरेका हुन् ।


७० लाख लगानीमा ट्राउट माछा पालन
बेतालीकै राजकुमाार बस्नेत, प्रभु बस्नेत र बाबुराम बस्नेत मिलेर ७० लाख रुपैयाँ लगानी सुरु गरेको प्रगतिशिल रेम्बो ट्राउट पालन युवा कृषि समुहले अहिले पाँच जनालाई रोजगारी पनि दिएको छ । गाउँमा पाँच जनाले रोजगारी पाउदा स्थानीय पनि दंग छन् । युवाहरुले सहकारी मार्फत लोन लिएर अहिले माछा पालन सुरु गरेका हन् । एक बर्ष अघि सुरु भएको ट्राउट माछा पालन व्यवसाय राम्रो भएको उनीहरु खुसी पनि छन् ।


एक केजी माछाको १ हजारदेखि १२ सय रुपैयाँ
उच्च पहाडी क्षेत्रमा मात्र हुने ट्राउट माछाको बजार राम्रो रहेको छ । प्रगतिशिल रेम्बो ट्राउट पालन युवा कृषि समुहका संचालक राजकुमार बस्नेत माछा व्यावसाय राम्रो भएकामा दंग छन् । उनले रामेछाप न्युजसँग भने,‘माछाको बजार राम्रो छ, अहिले १ हजारदेखि १२ सय प्रतिकेजीको दरले माछा विक्री भइरहेको छ । माछाको उत्पादन गर्न लामो समय लागे पनि मुल्य राम्रो भएको उनले बताए । उनले थपे,‘माछा किन्नको लागि फर्ममै आउनेहरु पनि छन, जिल्लाको सदरमुकाम मन्थली, विपि हाइवेदेखि काठमाडौंमा होटलहरुमा माछाको माग छ ।’ बस्नेतका अनुसार माछा प्याकिङ्गको लागि अत्याधुनिक मेसिन समेत ल्याएकाले माछा बिग्रने कुहिने समस्या नरहेको बताए । उनले भने,‘स्टोर गरेर चाहिएको बेला माग भएको ठाउमा पुर्याउने गरिएको छ ।’


४० हजार भुराबाट अब ५० हजार भुरा हाल्ने तयारी
ट्राउट माछा पालन गर्नको लागि मुलपानीमा ८ वटा पोखरी निर्माण गरिएको छ । पोखरी निर्माण भएपछि सुरुवातमा चालिस हजार माछाको मुरा मात्र हालेको बताउदै सञ्चालन बस्नेतले यस बर्ष पचास हजार ट्राउट माछाका मुरा हाल्ने बताए । माछा पोखरी सञ्चालनको लागि पाँच रोपनी लग्गा भाडामा लिएको बताउदै उनले बार्षिक २५ हजार रुपैयाँ भाडा तिुर्नपर्ने बताए ।

रामेछाप बेतालीका बाबुराम वस्नेतलाई काठमाडौमा पत्रकारितामा स्नातक पढदै गर्दा आफ्नै गाउँठाउँमा केही गर्न पाए हुन्थ्यो भने सोच जोग्यो । तर कहाँ के गर्ने भन्ने विषयको टुंगो लाग्न सकेन । त्यतिकैमा राजकुमार बस्नेत, प्रभु वस्नेत र बाबुराम बस्नेत तीन जनाबीच जिल्लामा नमूना काम गर्ने विषयमा छलफल भयो ।

अन्ततः तीन युवा मिलेर कृषि समुह फर्म दर्ताको साथै बेतालीको मुलपानीमा पोखरी निर्माण गरेर माछापालन गर्ने योजना बन्यो । जुन योजनाले अहिले सार्थकता पाएको छ । ट्राउट नामक जातिको माछा जुनमा हड्डी र काडा नहुनु अनि स्वस्थ्यको हिसाबले समेत अति नै उपयोगी भएको कारणले पनि बजार राम्रो रहेको बस्नेतले बताए ।

 

प्रतिक्रिया दिनुहोस्