३२ सय मिटर उचाइमा रामेछापको सैलुङ्गमा बन्यो भ्युटावर



नारायण श्रेष्ठ
८ माघ, रामेछाप ।
रामेछाप र दोलखाको सीमाना सैलुङ डाँडामा ३२ सय मिट उचाईमा भ्युटावर निर्माण भएको छ । आन्तरिक एवं बाह्य पर्यटकको गन्तव्य रहेको सैलुङ्गमा थप पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले सरकारले भ्युटावर निर्माण गरेको हो ।
ढेड बर्ष अघि निर्माण कार्य सुरु भएको भ्युटावरको असी प्रतिशत काम सम्पन्न भएको छ । १ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको भ्युटावर निर्माणको जिम्मेवारी खानी निर्माण सेवाले गरिरहेको छ ।

खानी निर्माण सेवा अन्तर्गत भ्यु टावरका जिम्मेवारी लिएका अम्बर लामाले अबको तीन महिनाभित्र भ्युटावर निर्माण कार्य सम्पन्न हुने बताए । उनले रामेछाप न्युजसँग भने,‘भौगोलिक विकटता, निर्माण सामाग्री पुरयाउन कठिनाइ र मौसमको प्रतिकुलताको कारण समयमा काम हुन नसकेको हो ।’

१४ मिटर उचाई ६ मिटर चौडाई रहेने भ्युटावर निर्माण भएपछि पर्यटकको संख्यामा थप बृद्धि हुने अपेक्षा गरिएको छ । सय वटा डाँडाहरु रहेको सैलुङ्गलाई नयाँ पर्यटन गन्तव्यको रुपमा विकास गर्न सरकारले भ्युटावर निर्माण गर्न लागेको हो । चार तले भ्युटावरमा पुग्नको लागि चार वटा पैदल यात्रा गर्ने सिढी पनि निर्माण गरिएको छ ।
सैलेङ्गमा चौरी भेडा पर्यटन आर्कषण क्षेत्रको रुपमा रहेको छ । प्राकृतिक रुपमा सैलुङ्गबाट देखिने दृष्यहरुले पर्यटकहरुलाई थप आकृर्षित गर्न सरकारले भ्युटावर निर्माण गर्न लागेको हो । समुन्द्री सतहबाट सैलुङ्ग झण्डै ३२ सय  मिटरको उचाईमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्