रामेछाप–सिन्धुली जोडने खैरेनीघाटको पुल बन्न अझै एक बर्ष लाग्ने



९ माघ, रामेछाप ।
रामेछापको बहुप्रतिक्षित मानिएको सुनकोसीस्थित खैरनीघाटको पुल निर्माण हुने अझै एक बर्ष लाग्ने भएको छ । आठ बर्ष अघि सुरु भएको पुल निर्माणको काम सम्पन्न हुने अझै एक बर्ष लाग्ने भएको हो । पुलको रामेछापतर्फ पर्ने पिलर निर्माणको काम आधा बाँकी छ । सिन्धीतर्फको तीन वटा पिलर निर्माण सम्पन्न भएर अहिले ढलान भइरहेको छ । ढलान कार्य सम्पन्न भएपनि पुल सञ्चालनमा आउनको लागि भने अझै एक बर्ष कुर्नुपर्ने भएको छ । पुल निर्माण नहुँदा रामेछापवासीले निकै ठूलो सास्ती र हैरानी खेप्दै आएका छन् ।

कन्काइ/लामा/खम्पाचे जेभीले आठ बर्ष अघि दुई बर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी सरकारसँग ठेक्का सम्झौता गरेको थियो । पुलको पुनः डिजाइन र ठेकेदार कम्पनीले समयमा नै काम नगर्दा पुल निर्माणको काममा ढिलाई हुँदै आएको छ । बर्षाको समयमा सुनकोसी वहाप ठूलो हुने र हिउदामा मात्र काम गर्दा पनि पुल निर्माणमा ढिलाई भएको ठेकेदार कम्पनीले बताएको छ । रामेछापवासीले भने पुल निर्माण कार्यमा भइरहेको ढिलाईप्रति आक्रोश व्यक्त गर्दै आएका छन् ।
पुलको ६६ मिटर ट्रस्ट रहनेछ । अबको एक महिनाभित्र पुलको पिलर र ढलान कार्य सम्पन्न हुने बताउदै कन्काई इन्टरनेशनल निर्माण सेवाका सञ्चालन राम मैनालीले रामेछाप न्युजसँग भने,‘ट्रस्ट निर्माणको लागि जलप नेपालसँग सम्झौता सम्पन्न भएको छ, यो बर्षा अघि नै सामान जान्छ ।’ सम्झौता अनुसार आगामी वैशाकभित्र नै पुलको सामान सुनकोसीस्थित पुल निर्माणस्थलमा पुग्नेछ । बर्षाको समयमा काम गर्न कठिनाई हुने भएकाले आगामी अर्को बर्षको बैशाकसम्म पुल निर्माण सम्पन्न हुने सञ्चालक मैनालीले रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्