भुकम्पपीडित बृद्धबृद्धा, एकल महिला र अपाङगता भएकाको घर सरकारले नै बनाइदिने



१७ माघ, काठमाडौं ।
भुकम्प गएको ३३ महिनापछि सरकारले भूकम्पपीडित वृद्धवृद्धा, अशक्त एकल महिला, दृष्टिविहीन, अपाङ्गता भएका लगायतका जोखिमयुक्त वर्गका लागि घर बनाइदिने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता प्रवक्ता यमलाल भुसालका अनुसार ७० वर्षमाथिका वृद्धवृद्धा, ६५ वर्षमाथिका एकल महिला, दृष्टिविहीन, रातो र नीलो कार्ड भएका अपाङ्ग व्यक्ति तथा १६ वर्षमुनिका नाबालकहरुको लागि प्राधिकरणले नै घर बनाइदिने बताए ।
प्राधिकरणले हालै पारित गरेको कार्यविधिले जोखिमयुक्त व्यक्तिको परिभाषामा उनीहरुलाई समेटेको छ र सोही आधारमा लगत संकलन गरेर काम अघि बढाइने प्रवक्ता भुसालले बताए ।

प्राधिकरणसँग जोखिमयुक्त व्यक्तिको सामान्य आँकडा भए पनि स्थानीय तहसँग थप जानकारी माग गरेर तथ्याङ्क प्रमाणित गरिने उनले जानकारी दिए ।जोखिमयुक्त लाभग्राहीलाई दातृ निकाय र सामाजिक संघसंस्थामार्फत रकम परिचालन गरेर घर निर्माण गरिने प्राधिकरणको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्