तीन नम्बर प्रदेशको राजधानी जोगाउन हेटौडालाई कठिन, भक्तपुर ललितपुर काभ्रेमा राख्ने तयारी



२१ माघ, काठमाडौं । सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौँडा ताकेर प्रदेश सभाको पहिलो बैठक १८ माघमा बसेपनि अहिले राजधानी सार्ने गृहकार्य अगाडि बढेको छ । २७ माघमा प्रदेश सभाको बैठक बोलाइएको छ । सो बैठकमा प्रादेशिक राजधानीको विषय पेचिलो रूपमा उठ्ने देखिएको छ । मकवानपुरबाहेक १२ जिल्लाबाट प्रतिनिधित्व गर्ने अधिकांश सांसद हेटौँडाप्रति सकारात्मक नदेखिएपछि राजधानीको विषयमा छलफल हुने अवस्था सिर्जना भएको छ ।

हेटौँडा राजधानी बनाउने विषयमा चितवनले पूर्णरूपमा साथ दिने अनुमान गरिएको थियो । तर, अहिले चितवनका सांसदहरूले पनि मिश्रित प्रतिक्रिया दिएका छन् । यदि चितवनले साथ नदिएमा हेटौँडा राजधानी बनाउन दुई तिहाइ सांसद पु¥याउन गाह्रो देखिएको छ । प्रदेश ३ मा कुल ११० सांसद छन् । पछिल्लो समय सबै जिल्लालाई पायक पर्नेगरी भक्तपुर, ललितपुर, काभ्रेमध्ये एक ठाउँमा राजधानी हुनुपर्ने भन्दै प्रदेशसभाका सांसदहरु लागेका छन् ।

यसकारण हेटौँडा राजधानी बनाउन उपयुक्त हुन्छ
– देशकै ठूलो औद्योगिक क्षेत्रमध्ये एक ।
– द्रुतमार्ग, धरान–चतरा मार्ग, कान्ति लोकपथ, महेन्द्र राजमार्ग, त्रिभुवन राजपथलगायत राजमार्ग जोडिएको क्षेत्र ।
– १९ वटा क्षेत्रीय कार्यालयसहित मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकाम भएका भवनको सुविधा हुने ।
– अस्थायी राजधानी बनाउँदा साढे ६ करोडभन्दा धेरै खर्च भएकाले पुनः सार्न गाह्रो हुन सक्ने ।
– देशकै ठूलो आर्थिक नाका र व्यापारिक केन्द्रसँग नजिक ।
– नेपाल र छिमेकी मुलुक भारत र चीनबीच त्रिदेशीय सम्बन्ध जोड सजिलो हुने ।
– वातावरणीय दृष्टिकोणले अनुकूल

यसकारण हेटौँडा उपयुक्त हुँदैन
प्रदेश ३ का १३ मध्ये नौ जिल्लालाई अत्यन्तै अपायक पर्छ । मकवानपुर, चितवन, धादिङ, सिन्धुलीलाई सामान्य पायक । सडक विस्तार नभएका साँघुरा छन् ।

हेटौँडा राजधानी बनाउने विषयमा चितवनका सांसद विभाजित
चितवनबाट प्रतिनिधित्व गर्ने सांसद हेटौँडालाई राजधानी बनाउनुपर्ने विषयमा विभाजित भएका छन् । सुरुमा हेटौँडा राजधानी हुनुपर्ने बताउने सांसदहरू अहिले चितवन नै हुनुपर्ने नभए अन्यत्र सार्नुपर्ने लबिङमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्