दोरम्बा गाउँपालिकामा विकास निर्माणको कामले गति लिदै,स्थानीयमा उत्साह



नारायण श्रेष्ठ
२२ माघ, रामेछाप । स्थानीय तहको निर्वाचनपछि दोरम्बा गाउँपालिकामा विकास निर्माणको कामले गति लिएको छ । दुई दशकसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा अलपत्र परेको विकास निर्माणको काम स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै तीब्र गतिमा अगाडि बढेको छ । दोरम्बा गाउँपालिकाले जिल्ला सदरमुकाम मन्थली, राजधानी काठमाडौं र गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्म जोडने सडकलाई हिउद बर्षा नै सहज रुपमा सञ्चालन गर्ने योजना अनुसार काम अगाडि बढाइरहेको छ ।


गाउँपालिकाले सडक, विद्युत, खानेपानी, लगायतका विकास निर्माणको काममा विनियोजन गरेको बजेट अनुसारको काम समयसीमा भित्र भएको छ कि ? भन्ने विषयमा अनुगमन कार्यलाई पनि तीब्रता दिएको छ । दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाभित्र गाउँपालिका वडा नम्बर २ दोरम्बामा सञ्चालित विकास निर्माणको कार्यहरुको स्थलगत अनुगमन गरेका छन् ।
दोरम्बा गाउँपालिका–२ का वडा अध्यक्ष खड्गबहादुर श्रेष्ठ सहितको टोलीले वडामा निर्माणाधिक, काकलिङ मावि दोरम्बाको निर्माणाधिन भवन, गाल्वा–अग्लेश्वरी दोरम्बाको सडकको स्तरउन्नतीको कार्य, दोरम्बामा बन्दै गएको अन्तर्राष्ट्रियस्तरको खेल मैदान,दोरम्बादेखि गाउँपालिकाको केन्द्र टोकरपुर जोडने सडकको निर्माण कार्य, दैवी प्रकोप उद्धारको लागि बनेको हेलिकोप्टर ल्याण्ड लगायतको विकास निर्माणको कामको अनुगमन गरेका हुन् ।


गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले वडाभित्र सञ्चालित विकास निर्माणको कामले आफू सन्तुष्ट रहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाभित्र सवै वडामा विकास निर्माणको काम गर्ने प्रतिस्पर्धा छ, दोरम्बामा भएको विकास निर्माणको कामप्रति म खुसी छु, गाउँपालिकाले दोरम्बाको लागि सक्दो साथ र सहयोग गर्छ ।’

अनुगमनको क्रममा अध्यक्ष मोक्तानले विकास निर्माणको लागि गठित उपभोक्ता समितिका अध्यक्ष र पदाधिकारीहरुलाई विकास निर्माणको काम गर्दा गुणस्तरीयतामा ध्यान दिन निर्देशन दिए । उनले भने,‘हाम्रो गाउँठाउँको विकास गर्दा काम सकाउने प्रवृत्ति पहिला थियो, अहिले जनताले विकाससँगै गुणस्तर पनि खोजेका छन्, यो कुरामा ध्यान दिनुहोला ।’

अनुगमनको क्रममा सरकारले सुरु गरेको वृहत्त खानेपानी आायोजना अन्तर्गत ‘एक घुरी एक धारा’ भन्ने मुल नारासहित दोरम्बामा बन्दै गरेको वृहत्त खानेपानी आयोजनाको भौतिक पूर्वाधारहरुको वडा अध्यक्ष सहितको टोलीले अनुगमन गरेको छ ।

टोलीले दोरम्बाको मुलबथानमा निर्मानाधिन ७५ सय लिटरको पानी ट्याङकी र दोरम्बा स्वास्थ्य चौकी नजिकै बन्दै गरेको १ लाख टिलरको निर्माणाधिक पानी ट्याकीको पनि अनुगमन गर्दै मजबुद्ध र पारदर्शी ढंगबाट समयमा नै काम सम्पन्न गर्न निर्देशन दिएको छ ।

दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्गबहादुर श्रेष्ठले वडाभित्र निर्माणाधिन विकास निर्माणको कार्यको आफूले नियमित रुपमा अनुगमन गरिरहेको बताए । उनले भने,‘वडाभित्र सञ्चालित विकास निर्माणको कार्यसँग अनुगमनको कामलाई पनि ध्यान दिएका छौ ।’

प्रतिक्रिया दिनुहोस्