राष्ट्रियसभा निर्वाचन तयारी पूरा, भोलि मतदान हुँदै



२३ माघ, काठमाडौं । निर्वाचन आयोगले भोलि माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको बताएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि आयोगले सबै प्रदेशमा तयारी पूरा भएको र भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको हो ।
संविधानको धारा ८६ अनुसार राष्ट्रियसभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता÷अल्पसंख्यकसहित आठ गरीे निर्वाचित ५६ सदस्य रहन्छन् भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीनजना गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी जम्मा एक हजार ५०६ र सातै प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य ५५० गरी कूल दुई हजार ५६ जना मतदाता (निर्वाचक मण्डल) छन् ।

प्रदेश नं २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । आयोगले सो निर्वाचनका लागि छवटै प्रदेशमा उच्च अदालत रहेका स्थानमा स्थापना गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदानको तयारी भइरहेको जनाइएको छ ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को ललितपुरको पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेको आयोगका निर्वाचन अधिकृतको कार्यालय नजिकका सार्वजनिक स्थानमा मतदानस्थल तोकिएको छ ।

निर्वाचनका लागि प्रत्येक मतदानस्थलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए । हरियो र रातो रङका चार÷चार प्रकारका मतपत्र रहने छन्। यस निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय तहका पदाधिकारीको मतभार १८ हुनेछ ।
प्रदेश नं १ मा महिला तीन र अन्य तीन गरी छ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । यस प्रदेशमा अब दलित एक र अपांगता÷अल्पसङ्ख्यक एक गरी दुई पदका लागिमात्र निर्वाचन हुनेछ ।

प्रदेश नं ३ मा आठै पदमा मतदान हुनेछ भने प्रदेश नं ४ मा अपांगता÷अल्पसङ्ख्यक एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले बाँकी सात पदका लागि निर्वाचन हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रदेश नं ५ मा महिला तीन पदमा निर्विरोध निर्वाचित भएकाले बाँकी पाँच पदमा निर्वाचन हुनेछ । प्रदेश नं ६ मा सबै पदमा निर्वाचन हुँदैछ । त्यस्तै प्रदेश नं ७ मा महिला तीन र अन्य तीन गरी छ पदमा उम्मेदवार निर्विरोध भएकाले अब दलित एक र अपांगता÷अल्पसङ्ख्यक एक गरी दुई पदमा मात्र निर्वाचन हुने आयोगले जनाएको छ । आयोगका अनुसार अब निर्वाचित हुन बाँकी ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नेपालको संविधानमा संघीय व्यवस्थापिका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक हुने व्यवस्था बमोजिम प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्