भुकम्प पीडितलाई राहतः दोस्रो किस्ताको लागि तीन महिना म्याद थपियो



२६ माघ, काठमाडौं ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता लिने समयसीमा ३ महिना थप गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरवहादुर देउवाको अध्यक्षतामा बालुवाटारमा आज बसेको बैठकले निजी आवास पुनर्निर्माणका लागि दोश्रो किस्ता लिने समयावधी चैत्र महिनासम्म बढाउने निर्णय गरेको हो । यसअघि तोकिएको समय गत पुष मसान्तमा सकिएको थियो ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्प पीडितका लागि पछिल्लो समय थप गरिएको एक लाख रुपैयाँको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको भन्दै बिश्व बैंकले ४० अर्ब रुपैया दिने सहमति भइसकेको जानकारी बैठकमाा गराएका थिए ।

बैठकमा प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले पुनर्निर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था लगायत बिषयमा बैठकमा जानकारी गराएका थिए ।

प्राधिकरणका अनुसार हालसम्म पहिलो किस्ताको अनुदान पाउने लाभग्राहीको संख्या ६ लाख ७१ हजार पाँच सय ७७ छ । त्यस्तै, दोस्रो किस्ताका लागि प्रमाणिकरण गरिएका घर संख्या दुई लाख ३३ हजार ६ सय ७७ छ भने तेस्रो किस्ता पाउने लाभग्राही ५५ हजार पाँच सय ७७ मात्र छ ।

हालसम्म प्राधिकरणको अनुदान लाभग्राहीको सूचीमा सात लाख ६७ हजार सात सय पाँच भूकम्पपीडित छन् । त्यसमा ५ लाख ८४ हजार चार सय ६८ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ ।

हालसम्म करीव एक लाख भूकम्पपीडितको घर बनिसकेको प्राधिकरणको तथ्यांक छ । आगामी असार मसान्तसम्म साढे चार लाख घर पुनर्निर्माण गर्ने लक्ष्य प्राधिकरणको छ ।

प्रतिक्रिया दिनुहोस्