प्रतिनिधिसभाको समानुपातिक नतिजा सार्वजनिक, कुन दललाई कति सीट ?



२६ माघ, काठमाडौं ।

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक तर्फको मत परिणाम सार्वजनिक गरेको छ । निर्वाचन आयोगको शुक्रबार बसेको पदाधिकारी बैठकले स्विकृत गरेलगत्तै प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको हो ।

संवैधानिक व्यवस्था अनुसार केही ढिला गरी प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेलले जानकारी दिए । जस अनुसार एमालेले ४१ सिट हासिल गरेर पहिलो दल बन्न सफल भएको छ । त्यसैगरी काँग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी, नेपालले ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेको छ ।

आयोगका सचिव पौडेलले निर्वाचनमा ४९ वटा राजनीतिक दलहरुले भाग लिएपनि ५ वटा दल मात्रै राष्ट्रिय पार्टी बन्न सफल भएको जानकारी दिए । प्रतिनिधिसभा समानुपातिकतर्फ कूल सदर मत ९५ लाख ४४ हजार ७ सय ७९ रहेको छ । सवैभन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३१,७३,४९४ (३३.२५ प्रतिशत) मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेलगत्तै राजनीतिक दलहरुलाई उम्मेदवारको अन्तिम नामावली विवरण पेश गर्न पत्राचार पनि गरेको छ । सोमबार अपरान्ह ५ बजेभित्र पेश गर्नेगरी उम्मेदवारको अन्तिम नामावली बुझाउन दलहरुलाई आग्रह गरिएको आयोगका सचिव बताए ।

मंसीर ३ गते पेश गरेको सूचिमा आधारित रहेर दलहरुले कम्तिमा १ तिहाई महिला प्रतिनिधित्व हुनेगरी उम्मेदवार विवरण निर्वाचन आयोगमा बुझाउनुपर्नेछ । त्यसमा त्रुटि देखिए सच्याउन २ दिनको समय पनि आयोगले दिएको छ । राष्ट्रियसभामा पनि २७ सिटमा विजयी भएर एमाले पहिलो दल बन्न सफल भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि मात्रै प्रतिनिधिसभाको सम्पूर्ण मत परिणाम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले यसको परिणाम सार्वजनिक गर्न ढिलाई भएको पनि स्पष्ट पारेको छ ।

प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक हुनेवित्तिकै नयाँ सरकार गठन प्रक्रिया सूरु हुनेछ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ वटा दलहरुले बन्दसूची पेश गरेका थिए ।

तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने ५ वटा दलहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)समाजवादी जनता पार्टी÷जनजागरण पार्टी, नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम, नेपाल रहेका छन् ।

तीन प्रतिशत भन्दा कम मत प्राप्त गर्ने ४४ वटा दलहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्