दुई बर्षभित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय



३ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् ।बिहीबार पदभार ग्रहण गर्दै उनले २ वर्षभित्र गाउँपालिका र नगरपालिकामा सीटीईभीटीको सम्बन्धनमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका हुन् ।

 

प्रधानमन्त्री ओलीले २ वर्षभित्र संघीय संसदको आफ्नै भवन निर्माण गर्ने पनि घोषणा गरेका छन् । तत्कालै निर्माण सुरु गरी संघीय संसद भवन दुईवर्षभित्र पूरा गर्ने उनले बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता हुने भन्दै भ्रष्टाचारमा शून्य सहनशीलता ब्यवहारमा नै लागू गर्ने बताए । ‘भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने कुरा मात्रै होइन कार्यान्वयन गर्ने हो’ उनले भने ‘भ्रष्टाचारमा भेदभाव र संरक्षणको कुनै कुरा हुन सक्दैन, भ्रष्टाचार नियन्त्रण मेरो उद्देश्य हुनेछ ।’

प्रधानमन्त्री ओलीले पदभाार ग्रहण गर्दै पाँच वटा निर्णयमा हस्ताक्षर गरेका छन् । समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय लक्ष्य निर्धारण गर्दै उनले त्यसका लागि कानुनी व्यवस्था, प्रशासनिक पुनर्संरचना गर्ने पनि बताएका छन् ।

आर्थिक समृद्धिका लागि कृषिको व्यवसायीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीको आपूर्तिको व्यवस्था गर्ने पनि उनले बताएका छन् ।

आफू आर्थिक समृद्धिमा नै ध्यान केन्द्रित गर्ने भन्दै ओलीले आन्तरिक पूँजी परिचालन गर्ने, बाहृय लगानीका लागि अनुकुल वातावरण सिर्जना गर्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्येक स्थानीय तहमा उद्योगग्राम निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकले प्रत्येक प्रदेशको सदरमुकाममा आधुनिक खेलग्रामसहितको रंगशाला बनाउने र प्रत्येक प्रदेशमा प्राविधिक÷व्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय पनि गरेको महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्