रामेछापका सामुदायिक वन जोगाउनै मुस्किल



७ फागुन, रामेछाप ।
रामेछाप जिल्लाभित्र रहेका सामुदायिक वन जोगाउन मुस्किल देखिएको छ । हिउदको समयमा हावाहुरीसँगै जताततै डडेलो लाग्ने समस्याको कारण वन जोगाउन स्थानीयलाई हैरान भएको छ । हिउदको समयमा जङगलमा डढेलो लाग्दा रुख विरुवा, बन्यजन्तुको साथै मानविय क्षति हुने त्रास पनि बढेको छ ।

पछिल्लो केही हप्तामा दोरम्बा गाउँपालिका, रामेछाप नगरपालिका लगायतका सामुदायिक जंगलमा आगलागी भएको छ । स्थानीयले हेलचेक्रयाइँ गर्दा वनमा आगो लाग्ने गरेको छ । जंगलमा आगलागी हुँदा बन्यजन्तुको साथै लाखौको रुख विरुवा नष्ट हुने गरेको छ ।
रामेछापको २ नगरपालिका र ६ गाउँपालिकाभित्र ४ सय ४० वटा सामुदायिक वन रहेका छन् । अधिकाशं वन सुख्खाग्रस्त क्षेत्रमा रहेकाले हरियाली कम हुने र डढेलो लाग्ने गरेको जिल्ला वन कार्यालय रामेछापका रामविचारी ठाकुरले बताए । उनले रामेछाप न्युजसँग भने,‘सुख्खाग्रस्त जंगल छ, जताततै सल्ला र डाँडापाखा भएकाले मानविय त्रुटीको कारण हुने आगलागीको कारण बन नै सखाप हुने गरेको छ ।’

रामेछापको अधिकांश क्षेत्रमा सल्लाको वृक्षारोपणको कारण ठूलो समस्या थपिएको छ । सुरुमा जंगल हुने आशामा सल्लो लगाउन स्थानीय उत्साहित भएपनि सल्लाको कारण जंगल सुख्खा हुनुको साथै खानेपानीको मुहान समेत सुक्दै जान थालेपछि सल्लाको जंगलप्रति मानिसहरुको मोह घटदै गएको छ ।
सामुदायिक वनको स्रोत साधन कमी भएको कारण पर्याप्त रुपमा सूचना प्रवाह गर्न नसक्दा पनि वनमा आगलागी हुने गरेको अधिकृत ठाकुर बताउछन् । जिल्लामा हाल ५ सय भन्दा बढी कबुलियती वन रहेका छन् । जिल्लाको ५४ प्रतिशत क्षेत्रमा वन रहेको बताउदै अधिकृत ठाकुरले रामेछाप न्युजसँग भने,‘हामी सल्लो विस्थापित गरेर चौडापाते भएको जंगल निर्माणको अभियानमा जुटेका छौं ।’

जिल्लामा रहेको वन अतिक्रमणमा नपरेको उनले दावी गरे । जिल्लाको सुख्खाग्रस्त क्षेत्रलाई हरियाली बनाउने अभियान अन्तर्गत वन कार्यालयले पाँच बर्षे विरुवा वितरण गरेको छ । ठाकुरले भने,‘सानो विरुवा लगाउदा पानीको कारण हुर्काउनै निकै मुस्किल छ, पाँच बर्षे विरुवा लगाउने हो भने हुर्काउन सजिलो हुन्छ ।’ यस बर्ष मात्र हालसम्म वन कार्यालयले २५ हजार विभिन्न जातको विरुवा स्थानीय उपभोक्ता समितिहरुलाई वितरण गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्