सुनापति गाउँपालिकाद्धारा दुई महत्वपूर्ण नियमावली पारित



८ फागुन, रामेछाप ।
सुनापति गाउँपालिकाको कार्यपालिकाको बैठकले दुई वटा महत्वपूर्ण नियमावली पारित गरेको छ । बैठकले शिक्षा नियमावली र संस्था दर्ता नियमावली पारित गरेको हो ।

गाउँपालिका अध्यक्ष धावा लामाको अध्यक्षमा बसेको बैठकले ११ सदस्यीय शिक्षा समिति पनि गठन गरेको छ । अध्यक्ष लामाको संयोजकत्वमा गठित समितिमा नेमा लामा, रजनी तामाङ, सुनिता रोक्का, रिता धमला, धनेन्द्र भुजेल, बिबि तामाङ, खड्ग घिसिङ, कृष्णकुमार योञ्जन, विष्णु तोलाङ्गे सदस्य रहेका छन । त्यसैगरी समितिको सदस्य सचिवमा सत्यनारायण महतो रहेको गाउँपालिकाका प्रवक्ता प्रेमसागर थापाले जानकारी दिए ।

बैठकले परीक्षा समिति पनि गठन गरेको छ । कक्षा ५ र ८ को परीक्षा सञ्चालनको लागि गाउँपालिकाका अध्यक्ष धावा लामाकै संयोजत्वमा समिति गठन गरेको हो । समितिको सदस्य सचिवमा डम्बरबहादुर कार्की रहेका छन भने सदस्यमा धनेन्द्र भुजेल, खडग घिसिङ, रहेका छन् ।

शिक्षा समितिले शिक्षकको नियुक्ति, सरुवा बढुवा, विद्यालयको नाम परिवर्तन, क्याम्पसको सञ्चालनका लागि सिफारिस लगायतको काम गर्ने गाउँपालिका अध्यक्ष लामाले बताए । उनका अनुसार क्याम्पस, मावि, निमावि र मावि गरी झण्डै ४३ वटा विद्यालय रहेका छन् । गाउँपालिकाभित्र एउटा मात्र प्राविधिक शिक्षालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्