रामेछापको पर्यटकीय क्षेत्र अग्लेश्वरीमा बुद्धको ठूलो मुर्ति बन्ने



१० फागुन, रामेछाप ।
रामेछापको पर्यटकीय क्षेत्र अग्लेश्वरीमा बुद्धको ठूलो मूर्ति बन्ने भएको छ । रामेछापको दोरम्बा, खाँडादेवी र सुनापति गाउँपालिकाको संगमस्थलमा रहेको धार्मिक पर्यटकीय क्षेत्र अग्लेश्वरीमा बुद्धको मूर्ति बनाउने अभियान सुरु हुने भएको छ ।

बुद्ध नेपालमा जन्मिएको होइन भन्ने भ्रम बेलाबेलामा सृजना हुने गरेको छ । उक्त भ्रम निवारण गर्न र बुद्ध नेपालमा नै जन्मिएको हो भन्ने विश्वभर सन्देश दिनको लागि अग्लेश्वरीमा बुद्धको मुर्ति निर्माण गरिन लागेको हो ।


नेपालमा पहिलो पटक एउटै मुर्तिमा चारैतिर फर्किएको (फोरबिग) बुद्धको मूर्ति निर्माण गर्न अभियानमा रामेछापमा जन्मिएर सांगीतिक क्षेत्रमा सक्रिय सिजम सिन्जाली लागेका छन् । गायक सिन्जालीले बुद्ध नेपालमा जन्मिएको थप सन्देश विश्वभर दिनको लागि नेपालको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यको साथ अभियान अगाडि बढाउन लागिएको बताए ।

उनले रामेछाप न्युजसँग भने,‘बुद्ध नेपालमा जन्मिएको होइन भनेर भ्रम सृजना गर्ने काम हुँदैछ, भ्रम चिर्न र अग्लेश्वरीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बुद्धको मूर्ति निर्माणको अभियान अगाडि बढाउने सरोकारवाला निकायसँग परामर्श भइरहेको छ ।’

रामेछापको सुनापति, दोरम्बार र खाँडादेवी गाउँपालिकाको संगमस्थल रहेको अग्लेश्वरीमा बुद्ध भारतमा नभई नेपालमा नै जन्मिएका हुने सन्देश दिने उदेश्यको साथ बुद्धको मूर्ति निर्माण गर्न अभियान सुरु हुन लागेको छ ।

गायक सिन्जालीको नेतृत्वमा स्थानीय तह, बौद्धधर्मालम्बी र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुको साथ र सहयोग लिएर बुद्धको मूर्ति निर्माणको काम अगाडि बढन बढाउने अभियानमा जुटेका छन् । अग्लेश्वरी समुन्द्री सतहबाट २४ सय ७ मिटर उचाईमा रहेको छ । अग्लेश्वरी हाल अग्लेश्वरी महादेवस्थानबाट परिचित हुँदै आएको छ ।

अग्लेश्वरीमा हाल आन्तरिक एवं बाह्य पर्यटकको चाप दिनप्रतिदिन बढ्दै गएको छ । प्राकृतिक र धार्मिक रुपमा परिचित अग्लेश्वरीमा भ्युटावर सहितको बुद्धको मूर्ति निर्माण भएकामा रामेछाप जिल्लाको पर्यटकीय गन्तव्यमा विकास हुनेछ ।

प्रतिक्रिया दिनुहोस्