महिलाको श्रम र पहिचान स्थापनाको माग



१० फागुन, काठमाडौं ।
महिलाको श्रम र पहिचान स्थापनाका लागि १० बुँदे घोषणापत्र तथा नौ बुँदे आचारसंहिता जारी गर्दै प्रदेश नं ३ स्तरीय सम्मेलन आज सम्पन्न भएको छ । महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालले आयोजना गरेको सो सम्मेलन फागुन ८, ९ र १० गतेसम्म काठमाडौँमा आयोजना भएको थियो ।

महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि, महिला मानवअधिकारकर्मी, महिलाका लागि आर्थिक, राजनीतिक र सामाजिक न्यायका लागि लडिरहनुभएका महिला अगुवा नेत्रीको सो सम्मेलनमा सहभागिता थियो ।

प्रदेश नं ३ अन्तर्गत रहेका १३ जिल्लाका २१० निर्वाचित स्थानीय जनप्रतिनिधिको उपस्थित रहेको सो सम्मेलनले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेदको अन्त्य, महिलाको शारीरिक, मानसिक र न्यायिक उपचारका लागि पहल, महिलाको सशक्तीकरणका लागि मानवअधिकारको प्रत्याभूति गर्न सक्ने वातावरण मिलाउने विषयमा साझा सहमति गर्दै घोषणपत्र जारी गरेको हो ।

महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालकी अध्यक्ष डा रेणु अधिकारीले प्रदेशपिच्छे फरक समस्या देखिएकाले समस्याको पहिचान गरी प्रदेशस्तरीय सम्मेलन गर्नुपरेको बताइन ।
सम्मेलन समापनपछि आयोजित पत्रकार सम्मेलनको आयोजना गरी महिला तथा मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि तथा महासन्धि, कानून र नीति नियमको पक्षम रही विधिको शासनलाई पालन गर्न स्थानीय निकायसँग सहकार्य गर्दै महिला अधिकार स्थापनाका लागि सदैव प्रतिबद्ध रहने सञ्जालले जनाएको छ ।
कार्यक्रममा रामेछाप दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङ, सुनापति गाउँपालिकाका उपाध्यक्ष गिता विष्ट (चौलागाई), खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्