रामेछापका चार सासदको एउटै बोलीःरामेछापलाई समृद्ध बनाउछौ



१३ फागुन, काठमाडौं ।
प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने रामेछापका सांसदहरुले जिल्लाको विकास र समृद्धिको लागि एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विकास निर्माणको दृष्टिकोणले पछाडि परेको रामेछापको विकासका लागि दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । निर्वाचनको क्रममा गरेको प्रतिबद्धता अनुसार नै जनताले परिवर्तनको महशुस गर्ने गरी काम गर्ने सांसदहरुले बताएका छन् ।


रामेछापबाट प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’ले समृद्ध रामेछाप निर्माणको लागि काम गर्ने बताए । उनले भने,‘निर्वाचनको गरेको प्रतिबद्धता अनुसार नै काम गछौ, पाँच बर्षको अवधिमा रामेछापवासीले परिवर्तनको महशुस गर्न पाउछन ।’ जिल्लाको विकासको लागि संघीय सांसदको हैसियतमा निर्वाह गर्नुपर्ने भूमिका खेल्ने बताउदै जिल्लाको विकास नै आफ्नो एक मात्र लक्ष्य रहेको बताए ।
कार्यक्रममा रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ का सांसद कैलाश ढुंगेलले रामेछापको विकासको लागि प्रदेशसभाको तर्फबाट भूमिका निर्वाह गर्ने बताए । उनले भने,‘सडक, शिक्षा, खानेपानी, स्वास्थ्य, जलविद्युत र पर्यटन क्षेत्रको विकास नै रामेछाप समृद्धिको आधार हो, योजनाबद्ध रुपमा जिल्लाको विकासमा लाग्छौ ।’
रामेछाप प्रदेशसभा क्षेत्र नम्बर १ का सांसद शान्ति पौडेलले रामेछाप जिल्ला प्राकृतिक स्रोत र साधनले धनी भएपनि अहिलेसम्म त्यसको उचित व्यवस्थापन हुन नसकेको बताए । उनले भने,‘जल, जमिन र जडिबुटीबाट जिल्लाले राम्रो आम्दानी लिन सक्छ, हामी नीति निर्माण तहमा रहेर रामेछापका जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउने गरी काम गछौं ।’

रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको रामेछापबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई बधाई एवं शुभकामना कार्यक्रममा रामेछापबाट प्रदेशसभाको सांसद बनेकी राप्रपाकी रिता माझीले जिल्लाको विकास निर्माणको काममा आफूले भूमिका खेल्ने बताइन । उनले विकास निर्माणको कार्यमा एकताबद्ध भएर लाग्ने बताइएन ।
उक्त कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ लाई समृद्ध बनाउने गरी काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्