सुनापति गाउँपालिकामा सिटिजन्स बैंक स्थापना हुने



१३ फागुन, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीमा सिटिजन्स बैंकको शाखा स्थापना हुने भएको छ । प्रत्येक स्थानीय तहमा बैंकको शाखा स्थापना गर्ने सरकारको निर्णय अनुसार सुनापति गाउँपालिकामा सिटिजन बैंकको शाखा खुल्ने भएको हो । गाउँपालिकाले बैंकको शाखा स्थापना गर्नको लागि प्रयास गरेपनि राष्ट्र बैंकको नीति अनुसार सिटिजन्स बैंकले शाखा विस्तार गर्ने भएको छ ।


बैंकको शाखा विस्तार गर्नको लागि दोलखाको चरिकोट शाखाका प्रमुख खड्ग पराजुलीले स्थलगत अनुगमन गर्दै गाउँपालिकाकासँग परामर्श गरेका छन् । पराजुलीले गाउँपालिकाका अध्यक्ष धावा लामा सहितका वडा अध्यक्ष र स्थानीयसँग बैंकको शाखा स्थापनाको लागि परामर्श गरेका हुन् ।
सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकामा सिटिजन्स बैंकको शाखा विस्तार हुने रामेछाप न्युजलाई बताए । उनले भने,‘गाउँपालिकामा बैंकको शाखा विस्तार गर्ने सहमति भएको छ, अबको दुई महिनाभित्र बैंकको शाखा स्थापना हुन्छ ।’

बैंक स्थापना गर्नको लागि स्थानीय बिबी तामाङले दुई महिनाभित्र पक्की घर निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् । स्थानीय समाजसेवी समेत रहेका तामाङले भने,‘गाउँपालिकाभित्र बैंक नहुँदा ठूलो समस्या छ, तीब्र गतिमा पक्की घर निर्माण गरेर दुई महिनाभित्र नै बैंकलाई हस्तान्तरण हुन्छ ।’ सुनापति गाउँपालिकामा पहिलो पटक बैंकको शाखा स्थापना हुन लागेको हो ।

गाउँपालिकाले एनएमबी बैंकको शाखा विस्तारको लागि प्रयास गरेपनि राष्ट्र बैंकको प्राविधिक कारणले गर्दा अहिले सिटिजन्स बैंक स्थापना हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्