रामेछापमा भुकम्पपछि कति घर पुननिर्माण भयो ?



१४ फागुन, रामेछाप ।
रामेछापमा भुकम्पपछिको पुननिर्माणको कार्यले गति लिएको छ । जिल्लामा दुई बर्ष दुई महिनाको अवधिमा ८ हजार १ सय ५० वटा घरको पुनिर्माण कार्य सम्पन्न भएको छ । जिल्लामा भुकम्पबाट कुल लाभग्राहीको सख्या ४५ हजार ४० मध्ये ४२ हजार ९ सय ९७ घरधुरीसँग अनुदान सम्झौता भएको थियो । हाल अनुदान लिएर २७ हजार १ सय ६४ घर निर्माण भइरहेका छन् ।

चैत्र मसान्तभित्र पहिलो किस्ता अनुदान लिएका सबै भुकम्प पीडितहरुले घर निर्माणको लागि डिपिसी गर्ने तयारीमा लागेको राष्ट्रिय पुननिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषि आर्चायले रामेछाप न्युजलाई बताए ।

भूकम्प अतिप्रभावित १४ जिल्लामा सरकारी अनुदान लिएर १ लाख घर निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार सरकारी अनुदान लिएर १ लाख २ सय ३६ घर निर्माण भएको हो ।१४ जिल्लामा ६ लाख ६७ हजार ६ सय ६२ घर भूकम्प पीडितले अनुदान पाउने भए पनि अहिलेसम्म अनुदान लिएर १ लाखले मात्र घर बनाएका प्राधिकरणले जानकारी दिएको छ ।
अनुदान लिएर सबैभन्दा धेरै धादिङ र दोलखामा घर निर्माण भएका छन् । धादिङमा १८ हजार ९४० घर र दोलखामा १८ हजार १ सय ७ घर बनेका छन् । प्राधिकरणका अनुसार अहिले ३ लाख ३२ हजार ३ सय २१ घर निर्माणको चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ ।

१४ जिल्लामा ६ लाख १० हजार लाभग्राहीले अनुदान सम्झौता गरे पनि १ लाखले घर निर्माण गरेका छन् भने ३ लाख ३२ हजारले मात्र घर निर्माण सुरु गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको दुई बर्ष दुई महिनामा १४ जिल्लाका ७० प्रतिशतभन्दा बढी लाभग्राही घर निर्माणको प्रक्रियामा रहेको प्राधिकरणको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्